Logo

सेयर कारोबार रकम ३ वर्षयताकै उच्च, १९ अर्ब बढीको कारोवार



काठमाडौं, १४ साउन । सेयर बजारमा सोमबार सामान्य करेक्सन आएको छ । यस दिन नेप्से सूचक २०.४६ विन्दुले घटेर २६६१.०९ अंकमा अडिएको छ । २ वटा बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । १९ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम ३ वर्ष यताकै उच्च हो । यसअघि २०७८ भदौ ३ गतेको कुल कारोबार रकम २० अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

बजार निरन्तर बढ्दै जाँदा नयाँ तथा पुराना लगानीकर्ता निकै आकर्षित भएका र उनीहरुले सेयर बजारमै लगानी बढाउँदा कारोबार बढेको अनुमान छ । यस्तै, बैंकहरुले सस्तो ब्याजदरमा सेयर कर्जा दिएकाले पनि कर्जा लिएर सेयर लगानी गर्नेहरु बढ्दा कारोबार रकम थप वृद्धि हुन गएको जानकारहरु बताउँछन् ।

ब्रोकरको संख्या थपिएकाले पनि उनीहरुले समेत नयाँ ग्राहक खोज्दा कारोबार बढ्न सहयोग पुगेको देिखन्छ । बजार करिब २७ सयको नजिक पुग्न लाग्दा दैनिक कारोबार रकमले थप गति लिएको हो । त्यसो त सोमबार पनि नेप्से इन्ट्रा डे मा २७ सय विन्दुभन्दा माथि पुगेर फर्किएको हो ।

नयाँ सरकार गठन, नयाँ अर्थमन्त्री नियुक्ति अनि मौद्रिक नीति सार्वजनिक यी सबै कुराहरुले बजारमा आम लगानीकर्ताको मनोबल निकै बढेको देखिन्छ । नेप्से सूचक र दैनिक कारोबार रकम प्रवृत्तिले पनि यी कुराहरुको पुष्टि गर्दै आएको छ ।

यद्यपि, सोमबार कारोबार रकममा व्यापक तेजी आए पनि नेप्से सूचक भने पटकपटकम हरियो र रातो भइरह्यो । बजारले निश्चित गति लिन नसकेको जस्तो देखिन्थ्यो । पछिल्ला दिनहरुमा बजारमा इन्ट्रा डे करेक्सन भइरहेको छ ।

केही बेर नेप्से तथा कम्पनीका भाउहरु घट्ने तर केही समयपछि नै पुनः बढ्ने प्रवृत्ति दोहोरिरहेको छ । करिब २ हजारको लेबलबाट बजार बढ्न थालेको हो । यसबीचमा ठूलो करेक्सन भने भएको छैन ।

बजार बढ्दै जाँदा नयाँ लगानीकर्ताहरुको प्रवेश पनि भइरहेको ब्रोकरहरुले बताएका छना् । विगतमा ननफन्डामेन्टल कम्पनीहरु अधिक चल्ने गरेका थिए । यही कारण आम लगानीकर्ता पनि वित्तीय सूचकहरु सबल भएका भन्दा पनि तुरुन्त नाफा भइहाल्ने कम्पनी तर वित्तीय रुपमा जस्तो अवस्थाका भए पनि त्यसलाई खरिद गर्ने गरेका थिए । तर पछिल्ला दिनहरुको अवस्था भने परिवर्तन भएको छ ।

प्रतिक्रिया दिनुहोस्