काठमाडौँ, २१ भदौ । अर्थमन्त्री डा प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उनले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताएका हुन् ।
अर्थमन्त्री डा महतले कानूनत: सबैखाले नागरिकले आफ्नो हौसियतअनुसार सेयर बजारमा लगानी गर्न छुट भएको उल्लेख गर्दै त्यस्तो लगानीलाई अनुचित मान्न नहुने स्पष्ट पारेका थिए ।
त्यस्तै उनले सेयर बजारमा कुनै पनि व्यक्ति नठगिउन् र कसैले एकाधिकार गर्न नसकोस् भनेर सरकारले निगरानी गरिहेकोसमेत बताए ।
अर्को प्रश्नको जवाफ दिँदै उनले निजामती सेवा ऐनमा नै निजामती कर्मचारीले आफ्नो ट्रेड युनियन गठन गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै उक्त कानून संसद्ले नै बनाएको स्पष्ट पारेका थिए ।