काठमाडौँ, १५ साउन । एक दिनको करेक्सनपछि सेयर बजारले फेरि रफ्तार लिएको छ । मंगलबार नेप्से सूचक ३५।५५ विन्दुले बढेर २६९६।६५ अंकमा आएको छ । १७ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । क्लोजिङका आधारमा नेप्से सूचक ३० महिना यताकै उच्च विन्दुमा बन्द भएको छ । यसअघि २०७८ माघ ९ गते इन्डेक्स २७२०।४३ विन्दुमा बन्द भएको थियो ।
यस दिन ८ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ४ वटा समूहको सूचक घटेको छ । बाँकी सबै समूहमा हरियाली छाएको छ । होटल तथा पर्यटन र फाइनान्स समूहमा अधिक तेजी देखिएको छ ।
बजारमा बुल माहोल खडा भएपछि नेप्से झनझन् माथि जान खाजेको हो । आम लगानीकर्ता निकै उत्साहित देखिएका छन् । उनीहरुको आत्मबल बढेको छ । भएको सेयर जोगाउने र सकेसम्म नयाँ थप्नैतिर अधिकांश लगानीकर्ता लागेपछि बजारमा डिमान्ड पक्ष एकदमै बलियो भएको छ ।
आपूर्तिभन्दा माग बडी भएपछि नेप्से बढ्ने क्रम जारी रहेको हो । त्यसो त बुल रनमा हुने यस्तै हो । आम लगानीकर्ताको अनुमानभन्दा पनि तीब्र ढंगले बजार बढ्ने गर्छ । बुल बजारमा आएको सप्लाई जति सबै पचाइदिने क्षमता हुने गर्छ । करेक्सन आशा गरेर बसेका लगानीकर्तासमेत यस्तो बेलामा दुविधामा पर्ने गर्छन् ।
त्यसो त नेप्से बढ्न सुरु गरेपछि अहिलेसम्म ठूलो करेक्सन आउन सकेको छैन । इन्ट्रा डे करेक्सन र कुनै दिनको सामान्य घटाईमा मात्रै सीमित भएको छ । यसले आम लगानीकर्ताको मनोबल उच्च रहेको देखाउँछ । बजार बढ्न थालेपछि नयाँ लगानीकर्ताको धमाधम प्रवेश भइरहेको ब्रोकरहरु बताउँछन् । पुराना लगानीकर्ताको सक्रियता पनि उत्तिकै बढेको उनीहरुको भनाई छ ।
माग पक्ष हावी भएकै कारण बजार इन्ट्रा डे को सामान्य करेक्सनकै आधारमा पुनः माथितिर लागेको हो । अहिले बजार माथि जानलाई नीतिगत कुराहरुले निकै सहयोग गरिरहेको छ । विशेषगरी मौद्रिक नीतिले बजारलाई थप माथि जाने आधारहरु दिएको छ । यसअघि बैंक–वित्तीय संस्थालाई कसिएका कतिपय प्रावधानहरु अहिले खुकुलो बनाइएको छ । बैंकहरुको नाफा बढाउने गरी नीतिगत व्यवस्था भएका छन् । यसबाट लगानीकर्ता उत्साहि भएका हुन् ।
यस्तै, संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जामा लगाइएको सीमा खारेज गरिएको छ । अब संस्थागत लगानीकर्ताले आफ्नो क्षमता अनुसार सेयर खरिद गर्न सक्नेछन् । यसले पनि बजारमा थप उत्साह ल्याएको हो ।
यस्तै, निरन्तर घट्दोक्रममा रहेको बैंक ब्याजदर, वित्तीय प्रणालीमा रहेको अधिक तरलताले पनि उत्तिकै सहयोग गरिरहेको छ । ३ वर्ष बजार बियरिस ट्रेन्डमा गयो । सेयर मूल्य निकै सस्तो भयो । चक्रीय आधारमा पनि अहिले बुल रन सुरु भएको देखिन्छ ।
यद्यपि, बजारमा उतारचढावहरु आइरहन्छ । आम लगानीकर्तालाई भने योजनाबद्ध ढंगले अघि बढ्न जानकारहरु सुझाव दिने गरेका छन् । सकेसम्म सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीमा लगानी गर्न सके जोखिम न्यूनीकरण गर्न सहज हुनेछ भने लाभ बढी लिने सम्भावना पनि रहन्छ ।
यस दिन ३२९ कम्पनीको ४ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटेल परेका छन् ।
जततउकस्ररधधध।लभउबष्उिबष्कब।अयmरलभधक(मभतबष्रिठद्दण्डज्ञ