काठमण्डौ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताउनुभएको छ । आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सेवा सहज बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
सूचना प्रविधिको उपयोगको बिस्तार गरी सार्वजनिक सेवा प्रवाहलाई अनुमानयोग्य, सरल, सुलभ र व्यवस्थित बनाउने नेपाल सरकारको प्रयास भएपनि यातायात, मालपोत, नापी, राहदानी, वैदेशिक रोजगार, अध्यागमन लगायतका संघीय कार्यालयहरुको सेवा प्रवाह अपेक्षाअनुरुप प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ ।
प्रदेश सरकार र पालिका सरकारबाट प्रदान गर्ने सेवा झन जटिल र खर्चिलो हुन गइ नागरिकले सहज र सरल सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको उहाँले बताउनुभयो । आयोगमा परेका उजुरीहरुको विश्लेषण गर्दा नागरिक बडापत्रको पालना नगर्ने, सेवा प्रवाहमा विचौलियाको प्रवेश हुने, सेवा प्रवाहलाई अवरुद्ध गराइ मिलेमतोमा अनियमितता गर्ने जस्ता प्रवृत्ति देखिएको बताउनुभयो ।
सार्वजनिक खरिद तथा निर्माणको सन्दर्भमा आवश्यकता र औचित्यताको पहिचान नगरी बजेट विनियोजन गर्ने, खरित योजना बिना नै खरिद कार्य गर्ने, मिलेमतोमा आयोजना छनोट गर्ने, कार्यक्रम नै सम्पन्न नगरी भुक्तानी दिने, अनुदानको दुरुपयोग गर्ने गरेको पाइएको उहाँले बताउनुभयो ।