काठमाडौँ, ४ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सेवाग्राहीका रुपमा आउने कर्मचारीलाई पनि विभेदरहित ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
मन्त्री मोदीले आज राष्ट्रिय किताबखाना (निजामती) को आकस्मिक अनुगमन गर्दै सेवा वितरणमा विभेद गर्ने र जनतालाई दुःख दिने कर्मचारीलाई कारबाही गरिने बताएका हुन् ।
उनले भने, “सेवाग्राहीका रुपमा आउने सरकारी कर्मचारीलाई समेत विभेदरहित ढङ्गले सेवा प्रवाह गर्नुपर्छ, सेवा वितरणमा विभेद गर्नेलाई कारबाही हुन्छ ।” सोही अनुगमनका क्रममा मन्त्री मोदीले सेवाग्राहीका रुपमा किताबखानामा आएका कर्मचारीलाई सेवा वितरणमा गुनासो भए त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिएका थिए ।
कर्मचारी समयमै कार्यालयमा नआउने र पूरा समय कार्यालयमा नबस्ने गुनासो आएपछि आफूले आकस्मिक निरीक्षण गरेको बताउँदै मन्त्री मोदीले सहरमा र सुविधायुक्त ठाउँमा मात्र रहेका कर्मचारीलाई आलोपालो दुर्गम क्षेत्रमा पनि सरुवा गरिने बताए ।





