कर्णाली, ५ वैशाख । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताएका छन् ।
आज आयोजित सङ्गठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरुट) अभियानअन्तर्गत बृहत् कार्यकर्ता भेलामा उनले गठनबन्धन शक्तिसँगको चुनाव प्रतिस्पर्धामा एमालेले आफ्नो जनमत कमजोर नभएको पुष्टि गरेको जिकिर गरेका हुन् ।
आफूलाई ठूला दल भन्नेले एकल तरिकाले चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने उनले दाबी गरेका थिए । उनले भने, “हामी एमालेलाई देशकै पहिलो पार्टी बनाएर राजनीतिमा स्थायित्व दिनका लागि दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हौँ । यसले मुलुकमा उत्साह र उमङ्ग ल्याएको छ ।”







