Logo

सोमबार शिव आराधनाको विशेष महत्व, व्रत र पूजाले मनोकामना पूरा हुने विश्वास



काठमाडौं, ७ पुष । हिन्दू धर्ममा सोमबारको दिन भगवान शिवजीको पूजा-आराधना गर्नु अत्यन्त शुभ मानिन्छ। धार्मिक विश्वासअनुसार यस दिन श्रद्धापूर्वक शिवजीको पूजा गरे भगवान शिव छिट्टै प्रसन्न भई भक्तजनको मनोकामना पूरा गर्ने विश्वास रहिआएको छ।

सोमबार विशेष गरी शिव मन्दिरमा गई ‘अर्धनारीश्वर पूजा’ गर्ने र ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। यस दिन शिवपुराण पाठ गरेमा भगवान शिव प्रसन्न भई वरदान प्रदान गर्ने धार्मिक मान्यता छ।

कुमारी स्त्रीहरूले योग्य जीवनसाथी प्राप्तिका लागि शिवजीको पूजा गर्ने गर्दछन् भने विवाहित स्त्रीहरूले पारिवारिक सुख–शान्ति र पतिको दीर्घायुको कामनासहित पूजा तथा व्रत बस्ने परम्परा छ। सोमबारको व्रत बस्दा एकछाक मात्र भोजन गर्नुपर्ने र भोजनमा नुन तथा तेल प्रयोग गर्न नहुने धार्मिक नियम रहेको छ।

भगवान शिव हिन्दू धर्मका प्रमुख देवतामध्ये एक हुन्। वेदमा उनलाई ‘रुद्र’ भनिएको छ। उनी व्यक्तिको चेतनाका अन्तर्यामी मानिन्छन्। शिवकी अर्धाङ्गिनी पार्वती हुन् भने उनका दुई पुत्र स्कन्द (कार्तिकेय) र गणेश रहेका छन्। हिन्दू मान्यताअनुसार ब्रह्मा सृष्टिकर्ता, विष्णु पालनकर्ता र शिव संहारकर्ता मानिन्छन्।

शिवलाई जीव वा प्राणको प्रतीकका रूपमा पनि चिनिन्छ। शिवको शक्ति बिना देह केवल शव मात्र रहने धार्मिक व्याख्या छ। देहमा ब्रह्माको स्थान शिरमा, विष्णुको स्थान हृदयमा र शिवको स्थान कमरभन्दा तलको भागमा मानिने भएकाले शिवलिङ्गको रूपमा पूजा गर्ने परम्परा विकसित भएको विश्वास गरिन्छ।

भगवान शिव सौम्य र रौद्र दुवै स्वरूपका लागि प्रसिद्ध छन्। सृष्टि, स्थिति र संहारका अधिपति मानिने शिव अनादि तथा सृष्टि प्रक्रियाका आदिस्रोत मानिन्छन्। देवताका पनि देवता भएकाले उनी ‘महादेव’ र ईश्वरका पनि ईश्वर भएकाले ‘महेश्वर’ नामले चिनिन्छन्।

प्रतिक्रिया दिनुहोस्