काठमाडौँ, ११ चैत । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सोमवारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
पर्सिसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गरिने उनले बताए ।
त्यसैगरी सङ्घीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएको सचिव पौडेलले बताएका छन् ।
उनले भने, ‘विभिन्न गठबन्धनमा रहेका पार्टीहरुसँग छलफल गरेर संसदलाई प्रभावकारी, गतिशील ऐन, कानुनहरु पनि बनाउनेलगायतका विषयमा समिक्षात्मक छलफल भयो । पर्सिसम्ममा छिटोभन्दा छिटो क्याबिनेट विस्तार गरेर डेलिभरीका कामहरु सुरुवात गर्ने भन्नेबारेमा छलफल भयो । यस्तै, सरकार र पार्टीलाई कसरी जोड्ने भन्ने बारेमा पनि कुरा भयो ।’