सोलुखुम्बु, ५ मंसिर । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ को माथिल्लो क्षेत्रको मतपेटिका ढुवानीमा समस्या भएको छ ।
अत्यधिक चिसोका कारण मतपेटिका फुट्ने र मतपेटिकामा प्रयोग गरिएको सिल आफैँ भाँचिने सम्भावना रहेको मतदान अधिकृतले बताएका छन् ।
जिल्लाको सबैभन्दा अग्लो ठाउँ ४ हजार मिटर उचाइको मतदान स्थलको मतपेटिका सिल गर्ने क्रममा चिसोले भाँचिने समस्या भएपछि केही समय तातो पानीमा डुबाएर सिल गरिएको थियो । तर ढुवानीको क्रममा ती सिलहरु भाँचिन सक्ने भएकाले ढुवानीमा समस्या भएको निर्वाचन अधिकृत ङवाङ दोर्जी बाहिङले बताए । मतदान केन्द्रबाट भरियामार्फत् नाम्चेसम्म मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले थोरै प्रेसर पर्दा समेत चिसोले फुट्ने र भाँचिने सम्भावना हुने उनको भनाइ छ ।
उनका अनुसार ३८४ जना मतदाता रहेको पाङ्बोचे मतदान केन्द्रमा १५९ मत अर्थात् ४१ दशमलव ४० प्रतिशत मत खसेको छ। खुम्बुको वडा नम्बर १ क्षेत्रको दुई वटा केन्द्रका मतपेटिका गाडीमार्फत् मतगणना स्थल सल्लेरी ल्याइएको छ भने बाँकी ९ वटा केन्द्रको पेटिका सोमवार हेलिकप्टरमार्फत् ल्याउने तयारी गरिएको छ ।