Logo

सोलुखुम्बु हेलिकप्टर दुर्घटना अपडेट: ६ जनाकै ज्यान गएको पुष्टि



सोलुखुम्बु, २६ असार । सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार छ जनाकै ज्यान गएको छ ।

हेलिकप्टरमा रहेका छ जना सबैको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए । पाँच जनाको शव र एक जनाको शरीरका टुक्रा भेटिएको उनले बताए ।

सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामोजुरा क्षेत्रमा दुर्घटनामा परेको हो । हेलिकप्टरमा एक जना पाइलट र पाँच जना यात्रु रहेका थिए । पाइलट नेपाली नागरिक हुन् भने यात्रु सबै मेक्सिकोका नागरिक रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । यात्रुमध्ये तीन जना महिला र दुई जना पुरुष थिए ।

दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट चेतबहादुर गुरुङसहित मेक्सिकन यात्रुहरू सिफुएन्टेस जी फर्नाडो, रिङ्कोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।

हेलिकप्टर रुखमा ठोकिएको देखिएको पनि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुबाट उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

खोजी तथा उद्धारका लागि नेपाली सेना, प्रहरी र काठमाडौँबाट एल्टिट्युड एअरको हेलिकप्टर परिचालन गरिएको थियो । तर काठमाडौँबाट गएका दुई वटा हेलिकप्टरले दुर्घटनास्थलमा अवतरण गर्न नसकेपछि २० मिनेटको पैदल दुरीमा अवतरण गरेका स्थानीयले बताएका छन् । स्थानीयले हेलिकप्टर खसेर आगो लागेको देखेपछि वडाध्यक्षलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्