Logo

सोसल मिडियाले रेडियोमा ल्याएको संकट



आज विश्व रेडियो दिवस । रेडियो नियमित प्रसारण भएको आज एक शताब्दी पूरा भएको छ । रेडियो शब्दको प्रयोग फ्रान्सका भौतिकशास्त्री इडौवार्ड ब्रान्लीले सन् १८९७ मा प्रयोग गरेपनि सन् १९२० मा अमेरिकी रेडियो इन्जिनियरलेले पहिलोपटक नियमित रेडियो प्रसारण गरेका थियो । संसारभरका रेडियोकर्मी तथा अभियन्ताले नवौं अन्तर्राष्ट्रिय रेडियो दिवस मनाइरहेका छन् ।

सन् १९२० अघिपनि रेडियो थिए तर ती नियमित प्रसारण हुँदैनथे । सन् १९१० बाट पानी जहाजमा रेडियो वाकीटकीको प्रयोग हुने गर्दथ्यो ।सन् १९१२ मा भएको टाइटानिक पानी जहाजको दुर्घटनामा रेडियोकै कारण यात्रुहरुलाई बचाउन सम्भव भएको थियो । त्यसबेला रेडियोमा दोहोरो कुरा गर्न सकिने अवस्था थियो ।

युद्धका सूचना बाहिर जानसक्ने भन्दै पहिलो विश्वयुद्धमा अमेरिकाले सर्वसाधारणलाई दिएको रेडियो जफत गरेको थियो ।नेपालमा पनि रेडियो राख्न लाइसन्स लिनुपर्ने र कर तिर्नु पर्ने प्रावधान थियो ।

सन् १९२२ मा ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेशन (बिबिसी) स्थापना रेडियोको नयाँ प्रयोग थियो । बिबिसीले दुनियाँका धेरै भाषामा समाचार प्रसारण गरेर रेडियोमा लोकप्रियताको कीर्तिमान कायम गरेको थियो । सन् १९२४ मा स्थापना भई सन् १९२५ बाट नियमित प्रसारण भएको श्रीलंकाको रेडियो सिलोन एशियाको पहिलो रेडियो थियो ।

सन् १९३३ मा जर्मनले रेडियो प्रसारण सुरु गरेको थियो । सन् १९३६ मा एफएम रेडियो प्रसारण भएको थियो । सन् १९४२ मा अमेरिकाले दोस्रो विश्वयुद्धलाई लक्षित गरेर ‘भ्वाइस अफ अमेरिका’ स्थापना गरेको थियो ।

दोस्रो विश्वयुद्धपछि नयाँ नयाँ रेडियो स्थापना भए । सन् १९६३ मा पहिलो टेलस्टार नामक पहिलो सञ्चार भूउपग्रह सफलतापूर्वक परीक्षण गरियो । सन् १९९४ मा अमेरिकी आर्मी र डार्पा कम्पनी मिलेर सफ्टवेयर रेडियोको विकास गरे । त्यसैगरी सन् २००० मा डिजिटल रेडियोको विकास र प्रसारण सुरु भएको हो ।

दुई शताब्दीसम्म एकछत्र प्रभाव जमाएको पत्रपत्रिकालाई दोस्रो विश्वयुद्धपछि भने रेडियोले चुनौती दियो । निरक्षरले पनि सुन्न र बुझ्न सक्ने, निःशुल्क सूचना पाइने भएपछि रेडियोको आकर्षण र लोकप्रियताले शिखर चुमेको थियो । रेडियोको विकासले सूचना प्रवाह गर्ने पुरानो तरिका र सिद्धान्तमा नयाँ आयाम थपिएको थियो ।

नेपालमा रेडियो
नेपालमा विक्रम सम्वत् २००७ साल चैत्र २० गते रेडियो नेपालको औपचारिक प्रसारण सुरु भएको लगभग ७० वर्ष पुगेको छ । नेपालमा रेडियो सेट भने जुद्धशमसेर राणाका पालामा भित्रिएको थियो । २००४ सालमा रेडियोका सेड भित्रिएपनि २००७ सालको क्रान्तिपछि मात्र रेडियो राख्ने क्रम बढेको हो ।

रेडियो नेपालको स्थापनाभन्दा अघिपनि विक्रम सम्वत्२००७ सालको क्रान्तिका समयमा आन्दोलनकारीले भारतबाट ट्रान्समिटर ल्याएर विराटनगर र भोजपुरबाट रेडियो प्रजातन्त्रका नामबाट प्रसारण गरेका थिए ।

सन् २००० कोदशकमा एफएम रेडियोले व्यापकता पाएसँगै नेपालमा नयाँ रेडियो सञ्चालनमा आएका हुन् । पहिलो सामुदायिक एफएम सगरमाथा र व्यावसायिक एफएम कान्तिपुरको प्रसारणले रेडियो नेपालको पुरानो प्रसारण विधिलाई चुनौती दिए। त्यसपछि सयौँ एफएम रेडियो थपिने र प्रसारण हुने क्रम बढ्यो ।

आन्दोलनका समयमा एफएम रेडियो आन्दोलनकारीका सहयोगी बने । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर भएर उभिए । गाउँ–गाउँमा खुलेका रेडियो आन्दोलनमा उर्जा भर्ने साधन बने । र, नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा रेडियोको ठुलो महत्व स्थापित छ ।

शिक्षा, सूचना र मनोरञ्जनका लोकप्रिय साधन बनेको एफएमलाई राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते संकटकाल लगाउँदै नियन्त्रणको प्रयास गरे । शाहीकालमा रेडियोमा समाचारमूलक कार्यक्रम प्रसारणमा रोक लगाइयो । रेडियोका स्टेशनमा सेना परिचालन गर्ने र रेडियो उपकरण जफत गर्ने जस्ता प्रेस नियन्त्रण गर्ने कार्य गरे ।

त्यसका विरुद्ध नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालले रेडियो बचाउ आन्दोलन गरे । समाचार प्रसारण गर्न नपाएपछि त्यसबीचमा कयौँ रेडियो बन्द हुन पुगे । शाहीकालमा रेडियो सत्ताको व्यापक दबाबमा परे ।

राजतन्त्रका विरुद्ध जनयुद्ध सञ्चालन गरेका तत्कालीन नेकपा माओवादीले घुम्ती रेडियो सञ्चालन गरे र राजतन्त्रका विरुद्ध र जनयुद्धका पक्षमा जनमत बढाउन माओवादीले रेडियो गणतन्त्र सञ्चालन गरेका थिए । देशका विभिन्न भागबाट रेडियो गणतन्त्रका नामबाट प्रसारण हुने गर्दथ्यो ।

वि.सं. २०६२÷०६३ को जनआन्दोलन सफल भएपछि रेडियोमा लागेका सबैखाले अवरोध हट्यो । त्यसबीचमा रेडियो लोकप्रियतामा झन्बृद्धि भयो । व्यावसायिकदेखि दल, संघ संस्थाले रेडियो खोल्ने क्रम बढ्यो । तर, हालका दिनमा रेडियो खोल्नेभन्दा बन्द हुने क्रम बढेको छ ।

रेडियोको प्रभावकारिता
सन् १९७० को दशकबाट टेलिभिजनको लोकप्रियता बढेको थियो । सन् १९९० को दशकमा रङ्गीन टेलिभिजन मानिसका घरघरमा पुग्न थालेपछि अब रेडियोको औचित्य समाप्त हुन्छ भन्ने अनुमान र तर्क गरिन्थ्यो । तर, सन् २००० पछि एफ.एम. रेडियो झन लोकप्रिया भयो ।

रेडियो मुलभूत रुपमा पाँचवटा सवल पक्ष छन् । पहिलोः रेडियो प्रायः सबै ठाउँमा उपलब्ध हुन्छ । दोस्रोः यो हल्का र बोक्न मिल्ने हुन्छ । तेस्रोः विद्युत् नभएको ठाउँमा ब्याट्रीबाट चलाउन सकिन्छ । चौथोः रेडियो काम गर्दा पनि सुन्न सकिन्छ । पाँचौँः रेडियो निरक्षरका लागि पनि भरपर्दो सञ्चारमाध्यम । यद्धपि रेडियोका विज्ञ, रेडियोकर्मी तथा सञ्चालकका बुझाई र अनुभवले निम्न बँुदामा रेडियोको प्रभावकारिताका सम्बन्धमा चर्चा गर्न सकिन्छ ।

१. निरक्षर समुदायमा शिक्षा र चेतना प्रवाह गर्ने भरपर्दो माध्यम रेडियो हो ।
२. पत्रपत्रिका किन्नु पर्छ, टेलिभिजन हेरेबापत निश्चित शुल्क भुक्तान गर्नुपर्छ । तर, रेडियो निःशुल्क सुन्न पाइन्छ ।
३. रेडियो बोकेर हिँड्न सकिने र पत्रपत्रिका र टेलिभिजनको भन्दा छिटोछिटो सूचना प्रवाह गर्ने भएकाले सूचनाको भरपर्दो माध्यम पनि हो ।
४. नेपाल जस्तो बिकाशन्मोख देशमा रेडियो बिकासे काम, कृषि, शिक्षा, स्वास्थ्य तथा सरसफाईका लागि ग्रामिण क्षेत्रका लागि भरपर्दो र उपयोगी साधन भएको छ ।
५. सिमान्तकृत समुदायका आवाज नीति निर्माण तहमा पुर्यायने र स्थानीय भाषा, कला, संस्कृति र प्रविधिको प्रवद्र्धन गर्न सहयोग गर्दछ ।
६. विद्युत र इन्टरनेट नपुगेको ग्रामिण तथा दुरगम स्थानमा सूचना तथा मनोरञ्जनको भरपर्दो साधन रेडियो हुने गर्दछ ।
७. रेडियो कृषकले मेलापातमा, श्रमिकले उद्योगमा, व्यापारी वा अन्य वर्गले काम गर्दै सुन्न सक्ने सहजता हुन्छ ।

संकटमा रेडियो

रेडियोको प्रभावकारीका सैद्धान्तिक मान्यताअनुसार नेपालमा रेडियो प्रसारण हुन नसकेको यसका विज्ञले निश्कर्ष निकालेका छन् । तर, रेडियोका विज्ञ, अभियन्ता, संचालक र रेडियो पत्रकार रेडियो औचित्य समाप्त नभएको तर्क गर्दछन् । उनीहरु सोशल मिडियाको प्रयोग गर्दै रेडियोको लोप्रियता वृद्धि गर्न सकिने तर्क गर्दछन् ।

प्रविधिको प्रयोग गर्दै जनचासोको विषयबस्तु प्रसारण गर्ने हो भने रेडियोको लोकप्रियता अझ बढ्ने तर्क रेडियोकर्मीको तर्क छ । तर, नेपालका अधिकांश रेडियोले रेडियोको आधारभूत मान्यता पुरा गरेका छैनन् । हिजो पत्रपत्रिका भन्दा भिन्न हो भन्ने नबुझ्दानै समस्या थियो ।

पत्रपत्रिका भन्दा सूचना प्रवाहमा अगाडि हुद्याको अवस्थासम्म थिकै थियो । तर, आज नागरिक स्वयम् सोशल मिडिया संचालक छन् भन्ने बुझ्न नसक्दा रेडियोमा संकट आएको हो । आजकादिनमा पुरानो फरम्याटमा सामग्री प्रसारण गर्नु र समाजको विविधता अनुसार रेडियो प्रसारण हुन नसक्नु अर्को समस्या हो ।

पत्रपत्रिका र टेलिभिजन जस्तै रेडियो पनि परम्परागत(ट्रेडिशनल) मिडिया हो । वैकल्पिक मिडियाको रुपमा उदाएको सोशल मिडियाको सुनामीले रेडियोलाई पनि छोपेको छ । रेडियोलेन सोशल मिडियाको बैसाखी नटेकी अफ्नो अलग्गै अस्तित्व कामय गर्न नसक्ने अवस्था छ । एएमको ठाउँमा एफएम रेडियोको बिकासले लोकप्रियताको जुन उचाई कायम गरेको थियो त्यसमा सोशल मिडियाले ब्रेक लागाइदिएको छ । सूचना र विज्ञापनका श्रोत साँघुरिन थालेको छ ।

बिहान जुरुक्क उठेर रेडियोको ट्युन बटार्नेको संख्या घटेको छ । राति सुत्नु अघिसम्म वा निदाउँदा पनि रेडियोको आनन्द स्रोता भेट्न छाडिएका छन् । आज बिहान उजरुक्क उठेर रेडियो होइन, मोबाइल खोज्न लाग्दछन् र सोसल मिडिया सर्च गर्छन् । सूचना प्रविधिको विकासले मानिसका आवश्यकता र चाहना बदलिएका छन् ।

राजनीति आढ भरोसामा बाँचेका, संघसंस्था, पुँजीपतिले संचालन गरेका वा पत्रकारले सञ्चालन गरेका स्वरोजगारमुखी रेडियो घिस्रिएर चलेका छन् । राम्रो तथा व्यावसायिक व्यवस्थापन भएका थोरै रेडियो मात्र राम्ररी सञ्चालनमा छन् । यस्ता व्यावसायिक रेडियोको आम्दानीका स्रोत सुक्तै गएका छन् । केही अपवादले प्रगति गरेका होलानन् । तर, तिनले समग्रको प्रतिनिधित्व गर्न सक्तैनन् ।

हिजो रेडियोमा निर्भर हुने ठुलो पङ्ति आज सोशल मिडियामा निर्भर छ । सूचना र मनोरञ्जनका लागि रेडियो अनिवार्य ठान्ने समूह फेसबुक, ट्वीटर, यूट्युब जस्ता सोसलमिडियामा डुबेको छ । एफ.एम. रेडियोसँग उत्पादन भएका चिनियाँ सस्ता हाते रेडियो मोबाइलले विस्थापित गर्यो । इन्टरनेटमा फोरजीको आगमनसँगै सोसल मिडियाले परम्परागत मिडियालाई ठुलो झड्का दिएको छ ।

सूचना तथा प्रसारण विभागमा २०७६ असारसम्म दर्ता भएका १ हजार ७३ वटा रेडियो मध्ये ६ सय ७० मात्र सञ्चालन हुनु भनेको रेडियो संकटमा परेको हो भन्ने बुझ्नु पर्दछ । दर्ता भएका मध्ये ३७.५६ प्रतिशत रेडियो बन्द भएका छन् । रेडियो बन्द हुने प्रतिशत यो सानो होइन । हुन त हिजो जसरी रेडियो अन्धाधुन्द खुलेका थिए । आज त्यसरीनै बन्द हुने क्रममा छन् । रेडियो बन्द हुने क्रम रोकिएको छैन ।

रेडियोको प्रभाव र लोकप्रियताको ग्राफ घटेपछि इज्जत र प्रतिष्ठिाका लागि लगानी गर्ने वर्ग र समूहले रेडियोमा थप लगानी गर्न छाडे । जुन उद्देश्य र स्वार्थका लागि रेडियो खुलेका थिए ती पूरा नहुने भएपछि रेडियोमा लगानी थपिन छाडेको हो । कुनै कारणले टावर ढल्यो वा ट्रान्समिटर बिग्रियो भने रेडियो पुनः तङ्ग्रिने र चल्ने सम्भावना कम हुँदै गएको छ ।

रेडियो शहरमा भन्दा ग्रामीण क्षेत्रमा बढी सुनिने गरेको छ । शहरमा रेडियो सुन्नका लागि भन्दापनि काम गर्दै रेडियो सुन्ने संख्या बढी हुन्छन् । तर, ग्रामीण क्षेत्रमा रेडियो सुन्नकै लागि समय निकाल्नेको संख्या ठूलो छ । अहिले यो जमात पनि फुर्सद हुँदा सामाजिक सञ्जालमा आकर्षित हुन थालेको छ ।

हिजो रेडियोमा समाचार वाचक, सम्पादक र प्रबन्ध निर्देशकको समाजमा कुनै माननीयको भन्दा कम प्रतिष्ठा थिएन । रेडियोमा समाचार भन्ने, कार्यक्रम सञ्चालन गर्ने सेलिब्रटी हुन्थ्ये । उनीहरुको शान, मान, इज्जत र प्रतिष्ठाको ग्राफ निकै उच्च थियो । तर, आज त्यस्तो अवस्था छैन ।

रेडियोमा नामका लागि लगानी गर्ने र नामका लागि काम गर्नेको लोकप्रियता घटेपछि बिस्तारै उनीहरु लाखापाखा लागेका छन् । आज स्थानीय रेडियोमा काम गर्ने मानिस पाउन मुस्किल हुन थालेको छ ।

रेडियोमा बजेका समाचारको भन्दा फेसबुकमा पोष्ट गरेको सामग्रीको प्रभाव बढी देखिन थालेको छ । रेडियोमा समाचार वाचक, सम्पादक वा प्रवन्ध निर्देशक वा अध्यक्षको समाजमा जुन सान, मान र लोप्रियता थिायो, त्यो आज छैन । उनीहरु आम मानिस सरह छन् । समाजले उनीहरुलाई विशिष्टीकरण गर्न छाडेको छ ।

हिजो रेडियोकर्मी वा सञ्चालकको परचय दिएर गर्व गर्ने व्यक्ति आज त्यति उत्साहजनक परिचय दिन चाहँदैन । हुन त जसले रेडियो बुझेको छ, त्यसको हकमा छुट्टै मूल्याङ्कन गर्न सकिन्छ तर आम रुपमा बुझ्दा आज रेडियोमा काम गर्ने, लगानी गर्ने र स्रोताको घेरा साँघुरो भएको छ ।

काठमाडौँ उपत्यकाका र बाहिरका व्यवसायिक रुपमा सफल रेडियोका पनि आम्दानी सोसल मिडियामा प्रवाह हुन थालेको छ । सरकारी निकायले रेडियोमा गर्ने विज्ञापन खर्च अनलाइन र सोसल मिडियामा लागनी गर्न थालेका छन् । ठुला रसफल भनिएका रेडियोमा पत्रकार र कर्मचारी कटौती गरिएको छ ।

मोफसलमा सञ्चालित धेरै रेडियो थोरै व्यक्तिबाट घिसटपिसट तरिकाबाट चलेका छन् । अहिले हो कि भरे हो जस्तो हालतमा छन् । कयौँ रेडियो घर भित्र परिवारले सञ्चालन गरेका छन् ।

स्थापित कयौँ रेडियोले राम्रा सम्वाददाता राखेर राम्रा समाग्री उत्पादन र प्रसारण गर्ने गर्दथे । तर, आज राम्रा सम्वाददाता कटौती भएका छन् । सोसल मिडिया र अनलाइन न्यज पोर्टलमा आएका सामग्रीनै रेडियोका प्रसारण गर्ने सामग्री बनेका छन् ।

रेडियोको विषयवस्तु हिसाबले, स्रोताको प्रभाव र आकर्षणका हिसाबले, आम्दानीका हिसाबले रेडियोको संख्यात्मक औचित्यमा प्रश्न उठेको छ । तर, नेपालका रेडियो अभियन्ता रघु मैनाली रेडियोको औचित्य समाप्त नभएको तर्क गर्दछन् । जनचासोका विषयवस्तु उत्पादन र प्रसारण गर्न नसकेका कारणले मात्र रेडियो संकटमा परेको मैनालीको बुझाई छ ।

रेडियोले प्रसारण गर्ने मुख्य सामग्री अनलाइन र सोशल मिडियामा आधारित छन् । नयाँ बिषयवस्तु भन्दा काम चलाउ सामग्री हुन्छन् । जनचासोको विषय नहुँदा संकट त हो नै तर, त्यसमा प्रविधिले वैकल्पिक मिडिया रुपमा सोशल मिडियाको राजमार्ग स्थापना गरिसकेको बुझ्न सक्नु पर्दछ ।

सोशल मिडियाले रेडियो मात्र होइन, पत्रपत्रिका र टेलिभिजन पनि संकटमा छन् । इन्टरनेटमा फाइव जीको प्रयोगले दुनियाँका धेरै कुरा बदल्ने छ । त्यसबेला सोशल मिडिया झन प्रभावशाली हुने विश्लेषण गरिँदैछ । अतः उच्चप्रविधिको फाइव जीको प्रयोगमा आउँदा हाम्रा रेडियोले आफुलाई बदल्लन सकेनन् भने रारै थोरै संख्यामा रेडियो सीमित हुनु पर्ने अवस्था आउँछ ।

रेडियो संकट मोचनको उपाय भनेको प्रसारित सामग्रीसुन्नै पर्ने खालको हुनु नै हो । र, त्यस्ता सामग्री प्रसारणमा सूचना प्रविधिको भरपुर प्रयोग गर्न सक्नु पर्दछ । यसले मात्र रेडियो जोगाउन सक्ला अन्यथा सोशल मिडियाको सुनामीले धेरै रेडियोका ढोकामा सदाका लागि ताला लाग्ने क्रम बढ्दै जान्छ ।

प्रतिक्रिया दिनुहोस्