स्कटल्याण्ड, २९ असार । स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ ।
स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदान नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४२ दशमव ५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो ।
स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । मार्क वाटले १७ तथा साफ्यान शारिफले १६ रन जोडे । कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल आलमले समान ३-३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे । त्यस्तै करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिएका थिए ।
नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित दर्ता गराउने दाउमा छ । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । यता स्कटल्याण्ड जारी प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा रहेको छ ।