काठमाडौँ, १३ जेष्ठ । स्थानीय तह निर्वाचनमा ५५ हजार ६ सय ९९ महिला उम्मेदवार रहेकोमा १४ हजार ४ सय २ महिला निर्वाचित भएका छन् ।
तीन वटा पालिकामा प्रमुख र उपप्रमुख नै महिला निर्वाचित भएका छन् । झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पूजन न्यौपाने कुँवर, दैलेखको भैरवी गाउँपालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवि भण्डारी र कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा सुशीला शाही र उपमेयरमा जुना चौधरी निर्वाचित भएका छन् ।
प्रदेशगत रुपमा महिला निर्वाचित सङ्ख्या प्रदेश-१ मा २ हजार ४ सय ५५ जना, मधेस प्रदेशमा २ हजार ७ सय ७० जना, वाग्मतीमा २ हजार ३ सय ४७ जना निर्वाचित भएका छन् ।
यस्तै, गण्डकी प्रदेशमा १ हजार ६ सय २२, लुम्बिनी प्रदेशमा २ हजार १ सय २४, कर्णाली प्रदेशमा १ हजार ५ सय २४ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ६० जना महिला निर्वाचित भएका निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क छ । देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित भएका छन् ।
पालिका प्रमुख जित्ने महिला
चितवनको भरतपुर महानगरपालिका– रेनु दाहाल
मकवानपुरको हेटौडा उपमहानगर– मीना लामा
झापाको विर्तामोड नगरपालिका–पवित्रा महतारा
झापाको गौरीगञ्ज गाउँपालिका– फूलवती राजवंशी
मोरङको कानेपोखरी गाउँपालिका– राजमति इङनाम
सालुखुम्बुको लिखुपिके गाउँपालिका– मिनादेवी कार्की
खोटाङको जन्तेढुङ्गा गाउँपालिका– अरुणदेवी राई
खोटाङको हलेसी तुवाचुङ नगरपालिका– विमला राई
सप्तरीको सुरुङ्गा नगरपालिका– गीता चौधरी
सर्लाहीको बरहथवा नगरपालिका–कल्पनाकुमारी कटुवाल
रौतहटको ईशनाथ नगरपालिका–कौशल्या देवी
रौतहटको मौलापुर नगरपालिका– रिनाकुमारी साह
सिन्धुलीको फिक्कल गाउँपालिका– पार्वती सुनुवार
सिन्धुलीको सुनकोसी गाउँपालिका– दीपा बोहरा दाहाल
काभेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– रेणुका चौलागाईँ
चितवनको माडी नगरपालिका– ताराकुमारी काजी महतो (थारु)
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–लक्ष्मी पाण्डे
नवलपरासीको सुनवल नगरपालिका– विमला अर्याल
बाग्लुङको बडिगाड गाउँपालिका– गण्डकी थापा अधिकारी
पर्वतको मोदी गाउँपालिका– हीरादेवी शर्मा
पाल्पाको बगनासकाली गाउँपालिका– सरस्वती दर्लामी
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– मोहनमाया ढकाल
अछामका पञ्चदेवल विनायक नगरपालिका– अम्बिका चलाउने
दैलेखको भैरवी गाउँपालिका–रीताकुमारी शाही
कैलालीको लम्कीचुहा नगरपालिका–सुशीला शाही