Logo

स्थानीय तह निर्वाचन: उम्मेदवार छान्न ६ मापदण्ड



काठमाडौँ, १० चैत । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्न ६ वटा मापदण्ड तय गरेको छ ।

बिहीवार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ६ वटा मापदण्ड तय गरेको हो ।

स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्याङ्कन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण, सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय गरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

त्यस्तै उम्मेदवार सिफारिस गर्नका लागि वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँ कमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख/उपप्रमुखको हकमा गाउँरनगर कमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने र उपमहानगर र महानगर कमिटीको हकमा सम्बन्धित कमिटीहरूको सिफारिस र जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने गरी केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्