
काठमाडौँ, ३ जेष्ठ । स्थानीय तह निर्वाचनमा अहिलेसम्म सार्वजनिक मत परिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि रहेको छ ।
कांग्रेसले अहिलेसम्म १८ वटा नगरपालिका र ८४ वटा गाउँपालिका गरी १०२ वटा पालिका जितेको छ ।
यस्तै ८७ वटा नगरपालिका र ८६ वटा गाउँपालिका गरी प्रमुख पदमा १७३ पालिकामा कांग्रेस अगाडि रहेको निर्वाचन आयोगको पछिल्लो विवरण छ । यस्तै कांग्रेसले १३ वटा नगरपालिकाको उपमेयर र ८४ वटा गाउँपालिकाको उपाध्यक्ष जितिसकेको छ । ६६ वटा नगरपालिकाको उपमेयर र ८४ वटा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् ।
यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४ वटा नगरपालिकाको मेयर र ५३ वटा गाउँपालिकाको अध्यक्ष गरी ५७ वटा पालिका प्रमुखमा जित निकालेको छ । ५९ नगरपालिका र ५९ गाउँपालिकाको प्रमुख गरी ११८ पालिकामा एमाले अगाडि रहेको छ । एमालेले ८ वटा नगरपालिकाको उपमेयर र ५२ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । ७१ वटा नगरपालिकाको उपमेयर र ६१ वटा गाउँपालिकाको उपाध्यक्षमा एमालेको अग्रता रहेको छ ।
त्यसैगरी तेस्रोमा रहेको माओवादी केन्द्रले ३ वटा नगरपालिकाको मेयर र ४१ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । माओवादी केन्द्र २२ वटा नगरपालिका र ४१ गाउँपालिकाको प्रमुखमा अघि रहेको छ । माओवादी केन्द्रले तीन नगरपालिकाको उपमेयर र ४१ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । उपप्रमुखमा ३२ नगरपालिका र उपाध्यक्षमा ३६ गाउँपालिकामा माओवादी केन्द्र अगाडि छ ।
यस्तै नेकपा एकीकृत समाजवादीले चार वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ ।







