काठमाडौँ, १७ वैशाख । आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दिएकामध्ये चार हजारभन्दा धेरैले फिर्ता लिएका छन् ।
वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारलाई हिजो बेलुकी ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो । तथ्याङ्क सङ्कलनको काम भइरहेकाले फिर्ता लिनेको सङ्ख्या थपघट हुन सक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगकाअनुसार देशभरबाट एक लाख ५३ हजार २ सय २० जना उम्मेदवार छन् ।
चुनावी कार्यतालिकाअनुसार आज उम्मेदवारलाई चुनाव चिह्न दिइनेछ । सत्ता गठबन्धनले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन दबाब दिए पनि भरतपुर, पोखरा लगायतका ठाउँमा उम्मेदवारी कायमै छ ।
यसैबीच पालिका चुनावमा एमालेका उम्मेदवार सबैभन्दा बढी छन् । आयोगकाअनुसार एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । एमालेले पुरुष १९ हजार ४९९ र महिला १४ हजार ४ जना गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको हो ।