Logo

स्थानीय तह निर्वाचन: यी हुन् ६ वटा महानगरका मुख्य दलका प्रतिस्पर्धी



काठमाडौँ, १२ वैशाख । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतवार र सोमवार मनोनयन दर्ता भएको छ ।

हिजो धेरैजसो साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएकाले निर्वाचन अधिकृतको कार्यालयमा कम चाप रहेकोमा आज दिनभर भिडभाड रहेको छ । मनोनयन दर्ता गराउने समय सकिएको र विवरण तयार पार्ने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौँ महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर पदमा नेपाली कांग्रेसकी नेतृ सृजना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । यस्तै काठमाडौँमा नेकपा एमालेको तर्फबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाको तर्फबाट कलाकार मदनदास श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

ललितपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले मनोनयन दर्ता गराएका छन् । ललितपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यले मनोनयन दर्ता गराएका छन् ।

पोखरा महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले मनोनयन दर्ता गरेका छन् । पोखरामा कांग्रेस नेता ऋषिराम सापकोटाले पनि स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् । त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेकी छन् ।

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रकी नेतृ रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् । यस्तै नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्वसांसद जगन्नाथ पौडेलले पनि भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । भरतपुरमा एमाले र राप्रपाले तालमेल गरेका छन् । दुई दलको तर्फबाट मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाका हिमला गुरुङले मनोनयन दर्ता गराएका छन् ।

विराटनगर महानगरपालिकमा पाँच दलीय गठबन्धनबाट मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् । यस्तै एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीले मनोनयन दर्ता गराएका छन् ।

वीरगञ्ज महानरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयरमा जसपाका राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलमले मनोनयन दर्ता गराएका छन् ।

यस्तै वीरगञ्जमा नेकपा एमालेको तर्फबाट मेयरमा विजय सरावगीले मनोनयन दर्ता गरेका छन् । वीरगञ्जमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेका छन् । उपमयेरमा लोसपाका पुरुषोत्तम झाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्