काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले वैशाख ३० गते शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आयोगमा बिहीवार भएको पत्रकार सम्मेलनमा सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले देशभरका सबै मतदान केन्द्र र स्थलमा मतदानका लागि तयारी पूरा भएको जानकारी दिए । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोग प्रतिबद्ध रहेअनुसारका तयारी पूरा भएको उनले जानकारी दिए ।
यस्तै २७ गते राति १२ बजेदेखि लागू भएको मौन अवधि पालना भए/नभएको अनुगमन भइरहेको र पालना नगर्नेलाई सचेत गराउने काम भइरहेको सहप्रवक्ता अर्यालको भनाइ छ । आचारसंहिता लागू भएयता ६६ वटा स्पष्टीकरण सोधिएको, नौ वटा सचेत र एउटा ध्यानाकर्षणको निर्णय भएको आयोगले जनाएको छ ।
देशभरका १० हजार सात सय ५६ मतदानस्थलमा रहेका २१ हजार नौ सय मतदान केन्द्रमा भोलि बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । मतदान कार्य बेलुकी ५ बजेसम्म जारी रहनेछ ।