काठमाडौँ, २ जेष्ठ । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म १३० वटा पालिकाको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ ।
गत वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ र उम्मेदवारको मृत्यु भएका कारणले जेठ ३ गते निर्वाचन हुने दुई स्थानीय तह र गोरखाको चुम्नुब्री गाउँपालिकाबाहेक अन्य सबै पालिकामा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३, उपाध्यक्ष ११७, वडाध्यक्ष दुई हजार ६७९, वडा सदस्य पाँच हजार ३१८, महिला वडा सदस्य दुई हजार ६७८, दलित महिला सदस्य दुई हजार ६४७ गरी कूल १३ हजार ५८२ जना उम्मेदवार (निर्विरोध समेत) निर्वाचित भएका छन् ।
कूल ७५३ पालिकामा गरी ३५ हजार २२१ पदका रहेका छन् । गणना कार्यमा ढिलाइ भएको सम्बन्धमा पत्रकारहरूले सोधेको प्रश्नमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ६४ लहरसम्मको ठूलो मतपत्र हुनु, महानगरलगायत धेरै मतदाता रहेका स्थानमा जनशक्ति, सीसी क्यामरालगायतको व्यवस्थापनका कारणले ढिलाइ भएको र यसबारे आयोगले थप निर्णय गरी गणना छिटो सक्न आग्रह गरेको बताए ।