Logo

स्थानीय निर्वाचनमा नेतृत्व छनौटको नयाँ आधार 



लोकतन्त्र र गणतन्त्र स्थापनागर्न नेपाली जनता जति सफल भए । त्यसको तुलनामा असल राजनीतिक नेतृत्व छान्न असफल भएका छन् । सफल लोकतन्त्र जहिले पनि बटमअप एप्रोचमा चल्छ, जहाँ कार्यकर्ता र जनताका मुद्दाका आधारमा पार्टीहरु निर्देशित रहन्छन् । तर, हाम्रो देशमा ठिक बिपरित टप डाउन एप्रोचमा चल्छ जहाँ कार्यकर्ता र जनता पार्टीका नेताको मुद्दाका आधारमा निर्देशित रहन्छन् । यो लोकतन्त्रको नाममा बहुदलीय निरंकुसता हो । यसकालागि हामी नै जिम्मेबार छौँ । बहुदलीय व्यवस्थामा कुनै पार्टीप्रति  आस्था हुनु अस्वभाविक होइन । तर, आफ्नो पार्टी र पार्टीका नेताले गरेको हरेक गल्तीलाई सहि देख्नु नै बहुदलीय निरंकुसताको मुख्य कारक हो । कुशल नेतृत्व छान्न नसक्नुको पिडा अहिलेको पुस्ताले सबैभन्दा बढी भोगिरहेको छ । 

हामी कुनै पनि विकशित मुलुकमा हेरौँ, त्यहाँका जनता कुनै एक राजनीतिक पार्टीको मजदुर रुपमा काम गर्दैनन् । परी आए उनीहरु शताब्दी देखि राज गर्दै आएका पार्टीहरुलाई पनि पाखा लगाईदिन सक्छन् भन्ने उदाहरण फ्रान्सको पछिल्लो निर्वाचन भएको छ । दुईवटा ठूला परम्परागत राजनीतिक दलहरु सोसलिष्ट पार्टी तथा रिपब्लिकन पार्टीका उम्मेदवारलाई पहिलो चरणमै पराजीत गरेपछिपूर्व अर्थ मन्त्री एमानुएल माक्रों फ्रान्सको नयाँ राष्ट्रपतिको रुपमा विजयी भएका छन् । एक वर्ष पहिले मात्रै नयाँ राजनीतिक दल खोलेका ३९ वर्षीय माक्रोंलाई पुरानो राजनीतिक वृत्त भन्दा बाहिरका उम्मेदवारको रुपमा हेरिएको थियो । तर, फ्रान्सका जनताले उनले उठाएको वेरोजगार सम्बन्धि मुद्दालाई साथ दिए र तीन वर्ष अघिसम्म पनि धरैजसो फ्रान्सेली जनताले नचिनेको एक व्यक्ति आज त्यहाँको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै छन् ।

तर, हामीले नेपालीले नेतृत्व छान्दा आफुले झण्डा बोकेको पार्टीको चुनाबचिन्ह बाहेक केहि देखेनौँ । आफ्ना मान्छे ठाउँमा पुगे केहि गरिदिन्छन् भन्ने स्वार्थ राख्यौँ । मेरो बाले यो पार्टीमा  भोट हाल्थे, मेरो श्रीमान्  यो पार्टी प्रर्ति आस्था राख्नुहुन्छ भन्ने कुरा मा अल्झी बस्यौँ । स्वविवेक कहिले प्रयोग गरेनौँ । गलत व्यक्तिलाई नेत्तृत्व दिएर सुशानको अपेक्षा  राख्नु लंगडो घोडालाई रेस जित्न पठाउनु जस्तै हो भन्ने कुरा बुझेनौँ । तर, समयले हामीलाई फेरी अर्को मौका दिएको छ । स्थानीय तह निर्वाचन हाम्रो घर अगाँनमा आइसकेको छ । त्येसैले हामीले पहिले गरको गल्ति सच्चाउन यो मौका खेर फाल्नु हुँदैन । हामी यस पटक एक सचेत नागरिक जसरी भोट गरौँ । हाम्रालाई  होइन राम्रालाई रोजौँ । पार्टीको होइन देशको सोचौँ । पदको जिम्मेवारीलाई उमेद्द्वारको क्षमतासँग  ट्याली गरौँ  । अनि सहि उम्मेदवार चुनौँ किनकि हामीले गरेको गल्तिको परिणाम हामीलेमात्र होइन हाम्रा पुस्ताले पनि भोग्ने  छन् ।

लेखक तिमिल्सिना अष्ट्रेलियामा कम्प्युटर इन्जिनियर अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्