पोखरा, ६ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय निर्वाचनमा भाग लिन नेकपा एमालेसँग सहकार्य गर्ने बताएका छन् ।
जिल्ला स्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न पोखरा आएका अध्यक्ष थापाले पत्रकार सम्मेलनमा वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा राप्रपा नेपालले भाग लिने र नेकपा एमालेसँग सहकार्य गर्ने बताए ।
उनले सबै राजनीतिक दलसँग छलफल र सहकार्य गर्दै आवश्यक परेको खण्डमा अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेल गर्ने सक्ने खुलासा गरे ।
उनले २०७० सालको निर्वाचनमा तेस्रो ठुलो पार्टी भएको दाबी गर्दै २०७३ सालपछि पार्टीलाई अझ ठुलो बनाउने महत्वकाक्षा राख्दा केही गलत प्रवृत्ति भएकासँग सम्झौता गर्न पुगेको समेत बताए ।
उनले तीन वर्षसम्म बाटोमा अलमल परियो, एकपछि अर्को गर्दै त्रुटिहरू हुँदै गए त्यसलाई सुधार गर्नै पुनः तीन वर्षपछि सही ठाउँमा आफू आइपुगेको बताए ।