धनुषा, २४ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचनमा मधेसले नयाँ रेकर्ड बनाउनु पर्ने बताएका छन् । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले अबको निर्वाचनमा नयाँ उदाहरण पेश गर्नुपर्ने बताए ।
“मधेसी समुदायले, बुद्धिजीवीले यो परिवर्तनको बाहक र जनताको सुःखदुःखको साथी माओवादी केन्द्र नै हो भन्ने अब सबैतिर नयाँ चेतना र जागरण आएको छ ।” अध्यक्ष प्रचण्डले २०७० को निर्वाचनमा मधेसबाटै लडेको र मधेसी जनसमुदायको मत पाएरै आफू निर्वाचित भएको बताए । उनले भने, “मैले २०७० को निर्वाचन मधेसबाटै लडें, मधेसी जनसमुदायको मत पाएरै निर्वाचित पनि भएँ र दोस्रोपटक प्रधानमन्त्री पनि मधेसी जनताको मतकै कारणले भएँ ।
प्रचण्डले नेकपा एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको बताएका छन् । उनले एमालले संसद् चले नदिएका कारण नागरिकताको समस्या समाधान नभएको बताएका हुन् । “एमालेले नै संसद् चल्न दिएको छैन । संसद्मा बहस हुन दिएको छैन । त्यसैले नागरिकताको समस्या समाधान गर्न ढिला भइरहेको छ । तर अब सदन खुल्नेबित्तिकै सबैभन्दा पहिले एमालेले माने पनि नमाने पनि नागरिकताको समस्या समाधान गर्नेछौ ।”
अध्यक्ष प्रचण्डले बुवाआमाको नागरिकता भएर पनि छोराछोरीको नागरिकता प्राप्त गर्न नसक्नु लज्जास्पद अवस्था भएको उल्लेख गर्दै अदालतले अध्यादेश ल्याएर हैन संसद्को अधिवेशन भित्रैबाट छलफल गरेर नागरिकताको समस्या हल गर्न भनेको हुँदा अध्यादेश ल्याएर यसलाई समाधान गर्न नसकिएको स्पष्ट पारे । उनले यसलाई सदनबाट नै सम्बोधन गर्ने पनि बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले मधेसी जनताको अधिकारका निम्ति अन्तिमसम्म पनि सङ्घर्ष गरिरहने बताए ।
यसैगरी अध्यक्ष प्रचण्डले मधेस र मधेसी जनताले सुखदुःखको साथी माओवादी केन्द्र नै भएको कुरा बुझिसकेको बताए । धनुषाको मिथिला विहारी नगरपालिकाको चुनावीसभालाई आज सम्बोधन गर्दै उनले मधेसी जनताकै मत पाएर आफू दोस्रोपटक प्रधानमन्त्री बन्न सकेको बताए ।
उनले कहीकतै कुनै भ्रममा नपर्न आह्वान गर्दै देशमा आमूल परिवर्तन माओवादीबाहेक अरुले ल्याउन नसक्ने दाबी गरे ।