झापा, जेठ २१ । नेपाली उपभोक्ता संरक्षण महासंघ प्रदेश १ ले प्रदेश सरकार र स्थानीय सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाएर उपभोक्ताहरुलाई ठगिनबाट जोगाउन आग्रह गरेको छ ।
महासंघले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
स्थानीय सरकारले तत्काल बजार अनुगमन समिति बनाएर स्थानीय स्तरमा अनुगमन गर्नु पर्ने र पसलमा अनिवार्य रुपमा मूल्य सूचि टाँस गर्ने ब्यवस्था मिलाउनु पर्ने माग महासंघले गरेको छ । बजारमा पछिल्लो समयमा बेथिति बढ्दै गएपछि महासंघले यस्तो माग गरेको हो ।
महासंघ प्रदेश १ का अध्यक्ष नारायण योङहाङ र महासचिव विष्णुप्रसाद पोखरेलद्धारा जारी गरिएको विज्ञप्तिमा स्थानीय सरकारका बिभिन्न निर्णयहरु सार्वजनिक भइरहदा प्रत्यक्ष उपभोक्तासंग सरोकार राख्ने बजार अनुगमन, कालोबजारी तथा भ्रष्टाचार नियन्त्रण, उपभोक्ता तथा आफ्ना पालिकामा रहने नागरिकहरुसंग प्रत्यक्ष र दैनिक जिवनमा सरोकार राख्ने बजारमा हुने गरेको अस्वभाविक मूल्यबृद्धि एवं ठगि नियन्त्रणको बिषयमा कहि कतै निर्णय भएको नपाईएको भन्दै यस बिषयमा गम्भिर बन्न आग्रह गरिएको छ ।
उपभोक्ताको हक हित सरक्षण र अधिकारको बिषयमा स्थानीय सरकार गम्भिर बन्न आवश्यक छ । पालिकास्तरमा समिति निर्माण गर्दा तथा पालिकाको निर्णयमा आम उपभोक्तासंग सरोकार राख्ने बजार अनुगमन समिति बनाएर प्रभावकारी बजार अनुगमन गर्ने ब्यवस्था मिलाउनका लागि हाम्रो अनुरोध रहेको छ,विज्ञप्ति मा भनिएको छ । उपपोक्ता हित सम्बन्धित आवश्यक ऐन तथा कार्यविधि स्थानीयस्तरमा बनाएर लागु गर्न सवै पालिकाहरुसंग महासंघले अनुरोध पनि गरेको छ ।
अहिले प्रदेश १ का अधिकाँश जिल्लाहरुमा दैनिक उपभोग्य सामाग्रिहरुको भाउ आकाशिएको भन्दै बजार अनुगमन गरेर मूल्य बृद्धि नियन्त्रणका लागि महासंघ प्रदेश १ ले माग राखेको छ । तेल, चिनी लगायतका खाद्यबस्तुहरुको कालोबजारी तथा ब्यापारीहरुले आफुखुशि मूल्य लिदै आएको जनगुनासोहरु आईरहेकाछन्, विज्ञप्ति मा उल्लेख छ ।