Logo

स्थानीय सरकारलाई सुशासनको केन्द्र बनाउनुपर्छ: गुरुङ



दमौली, २५ साउन । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारलाई सुशासनको केन्द्र बनाउनुपर्ने बताएका छन् ।

नेकपा (एमाले) घिरिङ गाउँ कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा गुरुङले एमालेले जितेका पालिकालाई सुशासनमा नमूना बनाउनुपर्ने बताए ।

सबै पक्षलाई मिलाएर लैजान सकेमात्र विकास हुने भन्दै गुरुङले मेलमिलापले मात्रै विकास सम्भव रहेको उल्लेख गरे । “जहाँ मेलमिलाप छ त्यहाँ विकास भएको छ, जहाँ झैझगडा छ त्यहाँ विकास हुँदैन, झैझगडा भए सुशासन पनि हुँदैन”, गुरुङले भने, “विकासको काममा विपक्षीलाई पनि मिलाएर लैजानुपर्छ ।”

गुरुङले भ्रष्टाचार नियन्त्रणका लागि नायक भएर काम गर्नुपर्ने बताए । भ्रष्टाचार देश विकासको बाधक भएकाले भ्रष्टाचार नियन्त्रणका लागि सङ्कल्प गर्नुपर्नेमा उनले जोड दिए । सार्वजनिक सम्पत्तिको संरक्षणका लागि पनि जनप्रतिनिधिले रक्षा गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्