काठमाडौँ, ३० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले स्थानीय सरकार कानुनानुसार चल्नुपर्ने बताएकी छन् ।
बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पछिल्लो अभिव्यक्ति र सिंहदरबारको फोहोर नउठाइएको विषयमा यस्तो बताएकी हुन् ।
“स्थानीय तह पनि सरकार हो । त्यसले संविधान, नीति, कानुन बुझ्नुपर्छ । त्यसानुसार चल्नुपर्छ,” मन्त्री शर्माले भनिन्, “कानुन, संविधानमा भएका कतिपय व्यवस्था चित्त बुझ्दैन, या त त्यसलाई परिवर्तन गर्ने सामर्थ्य राख्नुपर्छ । जनताबाट चुनिएका मान्छेले कानुन मान्दैन भने हुन्छ के?”
उनले संविधानको अनुसूची ८ मा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हुने स्पष्ट व्यवस्था रहेको बताइन् । उनले जनस्वास्थ्यमाथि खेलबाड गर्न नहुनेमा जोड दिइन् ।







