Logo

स्पट फिक्सिङ: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन



काठमाडौँ, ३ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई महिनाअघिको नेपाल टी-२० क्रिकेट लिगमा भएको भनिएको ‘स्पट फिक्सिङ’ प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार १२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहित आफ्नो प्रतिवेदन बुझाइएको जानकारी दिए ।

उनका अनुसार उनीहरूमाथि स्वाभाविक नतिजालाई फेरबदल गर्न मद्दत गरेको, फिक्सिङमा मिलेमतो गरेको र गर्न दुरुत्साहन गरेको आरोप लगाइएको छ । दुई खेलाडीमाथि भने नतिजा फेर बदरमा मद्दत गरेको आरोप छ ।

प्रहरीका अनुसार व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडी फिक्सिङमा संलग्न रहेको पाइएको छ ।

यसअघि प्रहरीले सप्तरीको राजविराज घर भएका पूर्व क्रिकेटर महबुब आलम, बारा सिम्रौनगढका २० वर्षीय खेलाडी मोहमद आदिल आलम र नितेश गुप्तालाई पक्राउ गरिसकेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पुस ९ देखि २७ गतेसम्म नेपाल टी-२० लिग भएको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना तथा भारतको सेभेन थ्री स्पोर्ट्स प्रालिको रणनीतिक तथा व्यावसायिक साझेदारीमा खेल खेलाइएको थियो ।

केही फ्रेन्चाइज टिमको आर्थिक स्रोत र खेलाडीको पारिश्रमिकको स्रोत पनि खुलेको नपाइएको जनाएको छ । यस घटनाको अनुसन्धानका लागि सिआइबीका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्