स्याङ्जा, १४ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं.२ को मतगणना आज बुधवार राति ९ बजेदेखि सुरु हुने भएको छ ।
आज बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
गएको मङ्सिर ४ गते मतदान सम्पन्न भएको भए पनि विवादका कारण यस क्षेत्रमा मतगणना सुरु हुन सकेको थिएन ।
यसअघि आजै निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नं.२ मा पुन: मतदान नगर्ने निर्णय गर्दै मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं.२ मा सर्वदलीय बैठक बसेर राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
नेकपा एमालेले चापाकोट नगरपालिकाको चार वटा बुथमा धाँधली गरी बुथ कब्जा भएको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै आएको थियो भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको थियो ।







