जनकपुरधाम, ३२ साउन । अर्थमन्त्री डा.प्रकाश शरण महतले आर्थिक स्रोतहरु उपलब्ध र पर्याप्त नजुटेकाले नै मधेश सहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताएका छन् ।
बिहीबार नेपाली कांग्रेस मधेश प्रदेश कार्यालय जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले आर्थिक स्रोत पर्याप्तताको अभावमा यसपालि सबैका लागि चितबुझ्दो बजेट हुन नसकेको स्वीकार गरेका थिए । साथै मन्त्री महतले यस अवस्थालाई कोही कसैले पनि विभेदको रुपमा नलिन आग्रहसमेत गरेका हुन् ।
कांग्रेसका प्रवक्तासमेत रहेका मन्त्री महतले एमालेले अनाहक बखेडा झिकेर संसदलाई प्रभावहीन बनाउने काम गरिरहेको टिप्पणीसमेत गरे । मन्त्री महतले प्रतिपक्षीलाई पनि संसद् गतिहीन बनाउने अधिकार नभएको बताए ।
संघीयता, संघीय कानुन, संसद् र कार्यपालिका चुस्त बनाएर प्राप्त उपलब्धि बचाउने कर्तव्य प्रतिपक्षीको पनि रहेकोले बखेडा छोडेर प्रक्रियामा आउन एमालेलाई आग्रह गरेका थिए ।