
काठमाडौँ, ६ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ, स्वस्थ्य र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप बलियो बनाउने बताएकी छन् । अभिव्यक्ति स्वतन्त्रता बिना राजनीतिक स्वतन्त्रताको अर्थ नहुने उनको भनाइ छ ।
प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक र अभिव्यक्ति स्वतन्त्रता एकापसमा पूर्णरुपले गाँसिएको बताउँदै राजनीतिकर्मी र पत्रकारिता सँगसँगै भएको बताएकी छन् ।
उनले भन्नि, “लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो भन्ने कुरालाई पत्रकारिता क्षेत्रबाट थप सशक्त र प्रभावकारी बनाउने र अगाडि बढाउने काममा यहाँहरुको पत्रकारिता अगाडि बढ्ने छ भन्नेमा विश्वस्त छु ।” पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन गर्दै पत्रकार आचारसंहिता पालनाका निम्ति काउन्सिलले पत्रकारलाई उत्प्रेरित गरेको उनको भनाइ छ ।
बद्लिएको परिवेशमा नेपालको पत्रकारितालाई अझै जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिलकै पुन:संरचना बारेमा छलफल चलिरहेको बताउँदै काउन्सिललाई पत्रकारिता क्षेत्रको नियमन र स्वनियमनमा बढी केन्द्रित गर्नुपर्ने सरकारका प्रवक्ता शर्माको भनाइ छ । “लोकतन्त्रमा मिडियामाथिको नियन्त्रण कल्पनाभन्दा बाहिरको कुरा हो, अब गर्ने भनेको स्वनियमनको ढाँचामा नियमन नै हो, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिताको विकासलाई अगाडि बढाउने गरी मिडिया काउन्सिल ऐन बन्नुपर्छ भन्ने आमसञ्चार क्षेत्रका विज्ञहरुको सुझाव रहेको छ”, उनले भन्नि ।
आमसञ्चार क्षेत्रको पुन:सरचनाका लागि सञ्चार क्षेत्रका विज्ञहरुको सुधार समिति गठन गरेर प्रतिवेदनसमेत प्राप्त गरिसकेको उनको भनाइ छ । उनको सबैको सल्लाह र सुझावका आधारमा सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।







