Logo

स्वतन्त्र उम्मेदवारहरू छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारीमा



काठमाडौँ, १८ असार । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरूले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन् ।

शनिबार ललितपुरमा विशेष भेलाको आयोजना गरी स्वतन्त्र उम्मेदवारहरूको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका हुन् । आउँदो संसदीय निर्वाचनमा पार्टी नै गठन गरेर जाने विषयमा छलफल गर्न भेला गरिएको काठमाडौँ महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार सुमन सायमीले बताए ।

दल ठिक छैन भन्ने जनतामा भ्रम परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन र संसद्मा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले पार्टी गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरूबीच छलफल सुरु गरिएको उनले बताए ।

उनले भने, “संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ हो । त्यहाँ बहुमतको कदर हुन्छ । एक व्यक्तिले कानुन बनाउन सक्दैन । त्यसो भएको कारण त्यसमा जाँदा दलको विकल्प दल नै हो । र, त्यसको आवश्कता छ । दल ठिक छैन भन्ने जनतामा रहेको भ्रम हटाउन जरुरी छ । दलको विकल्प दल नै हो ।”

प्रतिक्रिया दिनुहोस्