Logo

स्वदेशी वस्तुको प्रचारप्रसार-बजारीकरण गर्न सरकार तयार: प्रधानमन्त्री



काठमाडौँ, २ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चापदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित बस्तुको प्रचारप्रसार र बजारीकरणमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।

महिला उद्यमी महासङ्घ नेपालले आजदेखि ललितपुरमा आयोजना गरेको ‘छैठौँ अन्तर्राष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उनले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार तथा बजार विस्तार गर्न आवश्यक रहेको बताए ।

उनले महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाका प्रदर्शनी एवं मेलाले निकासी प्रवद्र्धनमा सहयोग पुग्नाका साथै नेपाली महिलाले सञ्चालन गरेका साना तथा मझौला उद्योगको संरक्षण र दीगो विकासमा मद्दत पुग्ने बताए ।

“स्वदेशभित्रै उपलब्ध कच्चापदार्थ, स्रोत साधनलाई अधिक परिचालन गरी निकासी प्रवद्र्धनमार्फत विदेशी मुद्राको आर्जन र रोजगारी विस्तार गर्न महिलाले विशेष ध्यान दिनुपर्छ”, प्रधानमन्त्री देउवाले भने, “स्वदेशी श्रम, सीप र कच्चापदार्थमा आधारित उद्योग स्थापना गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न सहयोग पु¥याउन सबैलाई अपिल गर्न चाहन्छु ।”

व्यापार मेलाले महिला उद्यमशीताललाई प्रवद्र्धन गर्र्न, महिला उद्यमी व्यवसायीबाट उत्पादित वस्तु तथा सेवाको विविधीकरणका साथै बजारको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले महिला उद्यमीको वस्तु तथा सेवाको प्रदर्शनीले रोजगारी सिर्जना, व्यावसायिक सीपको विकास तथा महिलालाई उद्यम व्यवसायमा लाग्न प्रेरित गर्ने बताए ।

“मेलाले महिला रोजगारी र स्वरोजगारी सिर्जना गर्नका साथै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा अगाडि बढाउन सहयोग मिल्ने छ, महिला उद्यमीबाट उत्पादित वस्तु तथा सेवाको प्रचारप्रसार, बिक्री प्रवद्र्धन र बजारीकरणका लागि महासङ्घले आयोजना गरेको प्रदर्शनी सिङ्गो नेपाली महिला उद्यमीको व्यावसायिक सञ्जाल र सम्पर्कलाई विस्तार एवं व्यावसायिक ज्ञान तथा सीप आदानप्रदान गर्न सहयोग पुग्नेछ”, उनले भने । मेलाले व्यवसायी–व्यवसायीबीच र व्यवसायीदेखि उभोक्तासम्मको सम्पर्क तथा सम्बन्धलाई विस्तार गर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

प्रदर्शनीका क्रममा हुने उद्योमी व्यवसायीबीचको अन्तक्र्रिया र आयात निर्यातसँग सम्बन्धित सूचना आदानप्रदानले अन्य मुलुकका उद्यमी व्यवसायीकाबीच व्यापारिक सहकार्य, समन्वय र सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने जनाउँदै उनले यसबाट नेपाली उत्पादनको निर्यात वृद्धि गरी विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने बताए ।

उनले मेलामा काठमाडौँ उपत्यकालगायत सातै प्रदेशका विभिन्न जिल्लाबाट महिला उद्यमीले स्थानीय स्रोत र साधनबाट बनाइएका परम्परागत सीपमा आधारित उत्पादन प्रदर्शनी हुने कुराबाट आफू हर्षित भएको बताए । “जुम्ला, हुम्ला, दार्चुला, डडेल्धुरा, ताप्लेजुङ जस्ता विकट तथा दुर्गम जिल्लाबाट पनि उद्यमी महिला सहभागी भई आफ्ना उत्पादन प्रदर्शनी गर्न ल्याउनुभएको जानकारी पाउँदा मलाई खुसी लागेको छ”, प्रधानमन्त्री देउवाले भने ।

नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको भन्दै उनले निजी क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिमा टेवा पु¥याउँदै रोजगारी सिर्जनामा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए । उनले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गरे । आगामी दिनमा महिलाको अधिक सहभागिता हुनेमा विश्वास व्यक्त गर्दै उनले यसलाई अझ फराकिलो, समन्वयात्मक र सन्तुलित बनाउन आग्रह गरे ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सामना गर्दै अत्यावश्यकीय वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई जारी राख्न सरकार र निजीले उचित समन्वय तथा सहकार्य गरेर अगाडि बढ्नुपर्ने खाँचो औँल्याए । उनले महिला उद्यमशीलता प्रवद्र्धनमा महासङ्घले रचनात्मक भूमिका निर्वाह गर्दै जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्