Logo

स्वस्थ ढङ्गले व्यापार गर्नुपर्छ: अध्यक्ष ओली



विराटनगर, १९ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी एवं व्यवसायीले स्वस्थ ढङ्गले व्यापार अगाडि बढाउनुपर्ने बताएका छन् ।

सिएनआइ कोसी एक्स्पो-२०७९ को आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले अनेक हिसाबले विराटनगर पहिलो स्थान हुनुपर्नेमा हुन नसक्नुको कारण खोज्नुपर्ने भन्दै सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमले उद्योगी र व्यापारीको समस्या समाधान हुने बताए ।

प्रतिकूल समयमा निरास भएर आत्महत्या गर्नु राम्रो होइन भन्दै अध्यक्ष ओलीले समस्यासँग लड्न सक्नुपर्ने र समस्याको समाधान खोज्नुपर्ने बताएका हुन् ।

विराटनगरबाटै उद्योग, उद्योगी र व्यापार एवं व्यवसाय सुरु भएको भन्दै अध्यक्ष ओलीले उद्योगको विकास गर्न सरकारले सहयोग गर्ने आश्वासन दिए । उद्योगी एवं व्यवसायीले सङ्गठनात्मक प्रतिस्पर्धा गर्नुभन्दा काम र उत्पादनमा प्रतिस्पर्धा गर्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री ओलीले भने, “समस्याको समाधान नगदा नगदी हुनुपर्छ, उधारोमा होइन ।”

उनले भने, “कुराले चिउरा नभिज्ने, सरकारले उद्योगी र व्यापारीको समस्या समाधान गर्न ठोस कदम चाल्नु पर्छ ।” गएको एक महिनादेखि देशको अर्थतन्त्रमा सुधार आएको भन्दै अध्यक्ष ओलीले आम्दानी कम र खर्च बढी हुने कारणले बजेट घाटा रहेको स्मरण गराएका हुन् ।

उनले नेपालको सबैभन्दा होचो भू-भाग केचनाकवलबाट सबैभन्दा अग्लो सगरमाथाबीचको विविधतालाई पहिचान गरी औषधि उत्पादन हुने उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्