काठमाडौँ, २४ भदौ । प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाई स्थिर वातावरण खल्बल्याउने कुनै पनि स्वार्थप्रेरित समूहको क्षणिक र दूरगामीविहीन प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन सेनालाई निर्देशन दिएका छन् ।
प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएका अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उनले भने, “नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।”
सेनाले सामूहिक प्रयासबाट आर्जन गरेको गरिमा र जनविश्वासका लागि सकलदर्जालगायत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यवाद ज्ञापन गर्दै उनले सैन्य सङ्गठन आजको भोलि तयार गर्न सकिने विषय नभएको बताए ।
प्रधानसेनापति शर्माले भने, “लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सवल र सुदृढ हुँदै जाने सङ्गठित र अनुशासित सङ्गठन नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीअनुसार सदैव चलिरहन्छ ।”
उनले कार्यकालको दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षाका साथै आगामी कार्यदिशा बारेमा जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।







