Logo

स्वार्थ समूह हाबी हुँदा कानुन बनाउन समस्या भयो: शर्मा



काठमाडौँ, ७ भाद्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूह हाबी हुँदा कानुन बनाउन समस्या भएको बताएकी छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले सञ्चार मन्त्रालयमा धेरै स्वार्थ समूहहरु भएकाले कानुन निर्माणमा समस्या भएको बताएकी हुन् ।

उनले साइबर ऐन तथा सूचनासम्बन्धी विधेयक बनाउन विभिन्न स्वार्थ समूहको कारण अहिलेसम्म टुंगो लाग्न नसकेको बताइन् ।

मन्त्रालयमा कुनै एउटा विषयमा कानुन बनाउन छलफल सुरु हुनेबित्तिकै विधेयकको सानो अंक बाहिर झिकेर कानुनको अपव्याख्या सुरु गरेको उनले बताइन् । कानुनको अपव्याख्या र खरो रुपमा प्रहार गर्ने गरिएको भन्दै उनले मन्त्रालयमा बसेर कानुन बनाउन नसक्ने भन्ने अवस्था बनाउने गरेको दाबी गरेकी थिइन् ।

सरकारले ल्याउन लागेको सूचना सम्बन्धित विधेयकमा सामाजिक सञ्जालसम्बन्धी ऐन पनि समेटिएकाले उक्त कानुनको विषयमा छलफल गर्दा सबैको फोन ट्यापिङ भइसक्यो भन्ने रुपमा बाहिर हल्ला गरिएको उनले बताइन् । उक्त कानुन बनाउन स्वार्थ समूहको कारण अगाडि बढाउन नसकेकाले थन्काएर राखिएको मन्त्री शर्माले बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्