Logo

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न अठोट लिएको छु: प्रधानमन्त्री



काठमाडौँ, २३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई छिट्टै समाधान गर्ने अठोट व्यक्त गरेका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवस र सेतोकोट दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्याले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको तत्काल समाधान खोज्ने बताएका हुन् ।

उनले भने, “स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्ने अठोट लिएको छु । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग मिलेर काम गरिनेछ ।”

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा सबै नागरिकको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै प्रधानमन्त्री दाहालले मानसिक स्वास्थ्य सेवालाई विस्तारका लागि पहलकदमी भइरहेको जानकारी दिए । उनले स्वास्थ्यमन्त्रीको नेतृत्वमा महत्वपूर्ण सुधारका काम भएको भन्दै प्रशंसासमेत गरेका थिए ।

“स्वास्थ्य क्षेत्रको विकास र जनतालाई सेवा सुविधा दिने विषयमा नयाँ योजना र कार्यक्रम अघि सार्न मैले स्वास्थ्यमन्त्रीलाई निरन्तर प्रेरित गरिहेको छु”, उनले भने । प्रधानमन्त्री दाहालले सो अवसरमा स्वास्थ्य क्षेत्र सुधार तथा समस्या समाधानका लागि काम गरिरहनुभएका स्वास्थ्यमन्त्री, पदाधिकारी र स्वास्थ्य क्षेत्रमा कार्यरत स्थास्थ्यकर्मी सबैलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्