काठमाडौँ, १८ कात्तिक । जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ ।
त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली र हेलिकोप्टर तयारी अवस्थामा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । आचार्यले भने, मौसमका कारण त्यस क्षेत्रमा जान केही ढिलाइ भएको छ, प्रधानमन्त्री जान तयारी अवस्थामा हुनुहुन्छ ।
प्रधानमन्त्री प्रचण्डले जाजरकोट भूकम्पमा परी घाइतेहरूको तत्काल उद्धार र राहतका लागि सक्रिय हुन तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले घाइतेहरूको उद्धार र राहतका लागि तत्काल सकिय हुन निर्देशन दिएका हुन् ।






