काठमाडौँ, २५ चैत । सरकारले पाँच वर्षअघि लागू गरेको स्वास्थ्य विमा कार्यक्रमअन्तर्गत हालसम्म १७ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार चालू आवको फागुनसम्म विमकबाट उठेको २७ अर्व १६ करोड ५९ लाखमध्ये विभिन्न अस्पताललाई दिएको शोधभर्ना अनुसार सो रकम खर्च भएको हो ।
बोर्डले १७ अर्ब रुपैयाँ भुक्तानी गरे पनि यो अवधिमा देशभरका ४४१ अस्पतालले भने २४ अर्ब २५ करोड १८ लाख रुपैयाँको दाबी भुक्तानी माग पठाएका छन् । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले अस्पतालले दाबी गरेको औषधी उपचार खर्चर बोर्डले गरेको भुक्तानीमा प्रचलित ऐन र नियमावली अनुसार कागजात फरक देखिएका कारण दाबी भुक्तानीमा अन्तर आएको बताए ।
अस्पतालहरुले २४ अर्वको विमा दाबी भुक्तानी माग गरे पनि बोर्डले कागजात मिलेका अस्पताललाई १७ अर्व भुक्तान गरेको हो । विगत ६ वर्षमा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सरकारले २० अर्ब ५९ करोड अनुदान र बिमाको प्रिमियक संकलन ६ अर्ब ५६ करोड रुपैयाँ गरी २७ अर्व संकलन भएको छ ।
सरकारको लक्षित वर्गमा पर्ने विभिन्न आर्थिक तथा सामाजिक क्षेत्रका नागरिकको स्वास्थ्य बिमाबापतको बिमा रकमका लागि गत र चालू आर्थिक वर्षमा १५ अर्ब भन्दा अनुदान दिएको छ । नेपालको संविधान (२०७२) को धारा ५१ (१५) मा राज्यका नीति अन्तर्गत नागरिकको स्वास्थ्य विमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था सुनिश्चित गर्न सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो । आजको कारोबार दैनिकमा समाचार छ ।