सोलुखुम्बु, २० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाक्दिङमा आज १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताइन् । स्थापित यस अस्पतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने पनि उनले बताइन् । अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन पनि उनले आग्रह गरेकी छन् ।
सामाजिक भावना राखी गाउँमै अस्पाताल खोलेर स्थानीयलाई निःशुल्क सेवा दिने काम सराहनीय भएको उनले बताइन् । नजिकै अन्य अस्पताल नहुँदा सुत्केरीले पाउने पीडा कम गर्न अस्पतालबाट सहयोग पुग्नेमा आफू आशावादी रहेको राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरेकी थिइन् ।