काठमाडौँ, ४ कार्तिक । हङकङलाई ७९ रनले हराउँदै नेपाल त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
नेपालले दिएको २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको हो ।
हङकङका यानशे रथले सर्वाधिक ४५ रन बनाए । बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले २-२ तथा दीपेन्द्रसिंह ऐरी र प्रतिस जिसीले १-१ विकेट लिएका थिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायो । नेपालका कुशल मल्लले सर्वाधिक ९२ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ५७ रन बनाए । बलिङतर्फ हङकङका हरुन अरशद र मोहम्मद घजनफरले २-२ विकेट लिएका थिए ।
यो खेल जित्दै नेपाल १ खेलअघि नै फाइनल पुगेको हो । फाइनल खेल आउँदो शुक्रवार हुनेछ । अब नेपालले अन्तिम खेलमा आउँदो सोमवार यूएईसँग खेल्नेछ ।
यसअघि बिहीवार भएको हङकङसँगकै खेलमा नेपाल ६ विकेटले र बुधवार भएको यूएईसँगको खेलमा ७ विकेटले विजयी भएको थियो ।