Logo

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला



चीन, २० माघ । कोरोना महामारीका कारण करिब तीन वर्षदेखि बन्दप्राय: रहेको हङकङ र मकाउका बासिन्दाको चीन आउजाउ अब पूर्णरूपमा खुला भएको छ ।

मुख्यभूमि चीनबाट स्वशासित क्षेत्र हङकङ र मकाउ आइजाइमा लगाइएको प्रतिबन्ध पनि हटाइएको छ ।

महामारीले मन्दितर्फ धकेलेको एशियाको आर्थिक केन्द्र हङकङलाई पुन: जीवन्त बनाउने तथा धेरैभन्दा धेरै विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पाँच लाख हवाई टिकट नि:शुल्क वितरण गर्ने सरकारी घोषणा भएको अर्को दिन चीनले सबै किसिमका यात्रामा लगाएको प्रतिबन्ध हटाएको हो ।

बेइजिङले कोभिड-१९ विरुद्ध अख्तियार गरेको शून्य सहनशिलताको नीतिका कारण बिग्रिएको व्यापार, व्यवसाय र पर्यटनलाई अब पुरानै लयमा फर्काउन सहज हुनेछ भने तीन वर्षदेखि घर बाहिर रहेका परिवारका सदस्यको पुनर्मिलनलाई सुनिश्चित गरेको छ ।

हङकङ र मकाउ राज्य परिषद् कार्यालयका अनुसार आगामी सोमबार मध्यरातदेखि निर्वाधरूपमा चीनबाट मकाउ र हङकङ तथा मकाउ र हङकङबाट चीन जानआउन पाइनेछ । गत महिना एक्कासी बेइजिङ्ले शून्य कोभिड नीति खारेज गरेपछि मुख्यभूमि जाने र त्यहाँबाट हङकङ र मकाउ आउजाउ सीमित मात्रामा हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्