Logo

हङकङ सिक्सेस : नेपाल क्वाटरफाइनलमा श्रीलङ्कासँग पराजित



काठमाडौं, १७ कार्तिक । हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको छ। दुई जितसहित पूल ‘बी’को विजेता बनेर क्वाटरफाइनल पुगेको नेपाल एक हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

टस जितेर सुरुमा बलिङ गरेको नेपाललाई क्वाटरफाइनलमा श्रीलङ्काले १२४ रनको चुनौती दिएको थियो। दुई विकेटको क्षतिमा श्रीलङ्काले १२३ रन बनाएको हो। श्रीलङ्काका लागि सन्दुन वीराक्कोडीले अर्धशतक बनाउए। उनले १४ बलको सामना गर्दा चार चौका र पाँच छक्का प्रहार गर्नुभयो। कप्तान लिहुरु मधुशंकाले ३१ रन जोडे। उनले चार छक्का र एक चौका प्रहार गरे।

नेपालका लागि प्रतिश जिसी र नारायण जोशीले एकएक विकेट हात पारे।

१२४ रनको लक्ष्य पछ्याएको नेपालका लागि राशिद खानले अर्धशतक बनाए। १८ बलको सामना गर्दा आठ छक्काको मद्दतमा उनले ५५ रन जोडे। नेपालका लागि नारायण जोशीले १३ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्क जोड्न सकेनन्। लोकेश बम ६, विवेक यादव ५ रन बनाएर आउट भएको खेलमा सन्दीप जोरा र प्रतिश जिसी शून्यमा आउट भए।

समूह चरणमा इंग्ल्याण्ड र अस्ट्रेलियाविरुद्ध खेलमा अर्धशतकीय पारी खेलेका कप्तान जोरा शून्यमा आउट हुँदा श्रीलङ्काको चुनौती भारी भएको थियो।

समूह पहिलो खेलमा इंग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा अस्ट्रेलियामाथि ११ रनको जित निकालेको थियो। शक्तिराष्ट्रविरुद्ध शानदार प्रदर्शन गरेको नेपाल क्वाटरफाइनलबाट घर फर्किएको हो।

प्रतिक्रिया दिनुहोस्