सङ्खुवासभा, २१ असार । जिल्ला अदालत सङ्खुवासभाले मादी हत्या प्रकरणमा संलग्न पाँचमध्ये चार जनालार्ई आजीवन कारावासको फैसला सुनाएको छ ।
जिल्ला अदालत सङ्खुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संलग्न चार जनालाई आजीवन र एक जनालाई २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको हो ।
वि.सं २०७८ भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका-१ उम्लिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले एकै परिवारका ६ जनाको हत्यामा संलग्न पाँच जनालाई कसुरदार ठहर गर्दै सोमबार फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार केदारप्रसद गौतमले जानकारी दिए ।
हत्यामा संलग्न मादी-१ का २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्कीलाई आजीवन कारवास र १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको श्रेस्तेदार गौतमले बताए ।