काठमाडौँ, १ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले हराएको २४ लाख मात्रा खोप मन्त्रालयको वेबसाइटमा हेरेर खोज्न आग्रह गरेका छन् ।
बुधवार प्रतिनिधि सभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले हराएको खोप खोज्नका लागि मन्त्रालयको वेबसाइट हेर्न सांसदहरूलाई आग्रह गरेका हुन् ।
उनले नेपालमा विभिन्न देशबाट आएका खोपहरू काठमाडौँमा कुन मितिमा आएको, काठमाडौँबाट कुन प्रदेशमा कति गएको वेबसाइटमा उल्लेख गरिएको दाबी गरेका छन् ।
उनले भने, ‘स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कुन देशबाट के नामको खोप कति आयो? कुन मितिमा आयो? प्रष्ट छ, सबै खोप काठमाडौँमै आएको छ र विराटनगर गएको छैन । अहिलेसम्म नेपालमा पाँच करोड ३३ लाख मात्रा खोप आएकोमा चार करोड ८७ लाख मात्रा प्रयोग भइसकेको छ । अझै ४६ लाख ४७ हजार डोज खोप सरकारसँग स्टक रहेको छ । २४ लाख घोटाला गरेको हो भने पुष्टि गर्न चुनौती दिन्छु ।’