Logo

हराएका सहकारी खोज्दै महानगर



विराटनगर, २६ मंसिर । विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन महानगरपालिकाले सूचना जारी गरेको हो ।

पछिल्लो समय सहकारी संस्थाले ग्राहकको निक्षेप फिर्ता गर्न आनकानी गर्ने प्रवृत्ति बढेपछि महानगरपालिकाको सहकारी शाखामा ग्राहक उजुरी पर्ने क्रम बढेको छ । ती सहकारीमा ताकेता गरेपछि सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कवहीन रहेका ३६ ऋण तथा बचत सहकारी संस्था लिमिटेडका फाइलमा उल्लेखित ठेगाना नभेटिएको, पटक-पटक ताकेता गर्दा पनि सम्पर्कमा आउन नचाहेको, सम्पर्क स्थापित गर्न नसकिएको र कुनै पनि प्रकारको कारोबारको विवरण पेस नगरेकाले ती सहकारीको नाममा सूचना जारी गर्नाका साथै नाम पनि सार्वजनिक गरिएको छ ।

सम्पर्कमा नआएका ती सहकारीले साधारण सभासमेत नगरी कारोबारको विवरण सम्बन्धित शाखामा नबुझाउँदा कैयौंँ ग्राहकको रकम डुब्ने जोखिम बढेर गएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले सम्पर्कमा नआएका सहकारी संस्थालाई सम्पर्कमा आउन ३५ दिने म्याद जारी गरिएको बताए ।

उनले ती सहकारीलाई खोजेर कानुन बमोजिम कारबाही गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्