झापा, २८ पुष । झापाको हल्दिबारी गाउँपालिकामा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता सोमबारदेखि हल्दिबारी गाउँपालिका–१ गोलधापस्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा प्रारम्भ भएको हो।
प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङदेनले पानसमा बत्ती बालेर गरेका छन्। उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले पठनपाठनसँगै खेलकुदले विद्यार्थीको व्यक्तित्व विकास, स्वास्थ्य सुदृढीकरण तथा क्षमता प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
प्रतियोगिता यही ३० गतेसम्म सञ्चालन हुने छ। प्रतियोगितामा हल्दिबारी गाउँपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत गरी १५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ।
विद्यार्थीहरूले भलिबल, कबड्डी, दौड, मिनी रिले दौड, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो, सटपुट, कराते लगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका छात्र–छात्राको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताका विजेता खेलाडीहरूले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने अवसर पाउने जनाइएको छ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति संयोजक सन्तकुमार थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, समिति सचिव रामबहादुर दाहाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा हल्दिबारी–१ का वडाध्यक्ष देवीबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक झमक तिम्सिनाले गरेका थिए। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेंद्र), हल्दिबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिन तथा नेकपा एमाले हल्दिबारी अध्यक्ष त्रिलोचन सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।







