Logo

हल्दीबारीमा श्रीमानद्वारा श्रीमतीको हत्या



काठमाडौं, ६ जेठ । झापाको हल्दीबारी गाउँपालिकामा घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

हल्दीबारी गाउँपालिका–५ धनुषपोखरी नजिकै गएराति गणेश भण्डारी ले आफ्नी ३३ वर्षीया श्रीमती उर्मिला भण्डारी को टाउकोमा दाउ प्रहार गरी हत्या गरेका हुन् । घटनास्थलमै उर्मिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार श्रीमान–श्रीमतीबीच लामो समयदेखि विवाद हुँदै आएको थियो । राति मादक पदार्थ सेवन गरेर घर फर्किएका गणेश र उर्मिलाबीच भनाभन हुँदा विवाद चर्किएको बताइएको छ ।

घटनापछि गणेशले छिमेकीकहाँ पुगेर आफूले श्रीमतीको हत्या गरेको बताएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

मृतक उर्मिलाका एक छोरा र एक छोरी रहेका छन् । घटनापछि दुवै बालबालिका समस्यामा परेका छन् ।

पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा मा राखिएको छ भने शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्