झापा, २४ पुष । हल्दीबारी गाउँपालिकाको आयोजनामा पौष १६ देखि २१ गतेसम्म सञ्चालन गरिएको स्काउट आधारभूत तालिम (६२० औं बी.टी.सी. र ४५९ औं पी.टी.सी.) सफलतापूर्वक सम्पन्न भएको छ।
तालिमको अन्तिम दिन सोमबार हल्दीबारी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा तालिम संयोजक सन्तकुमार थापाको अध्यक्षतामा समापन समारोह आयोजना गरिएको थियो। समारोहका प्रमुख अतिथि स्थानीय स्काउट संरक्षक एवं हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन रहेका थिए।
समारोहमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, वडा जनप्रतिनिधिहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, शिक्षा अधिकृत जनककुमारी राई, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, स्काउट लिडरहरू, समाजसेवी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
हल्दीबारी–३ स्थित श्री चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयमा सम्पन्न तालिममा ४१ जना शिक्षकहरूको सहभागिता रहेको थियो। तालिममा महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक शिवानी देवान र पुरुषतर्फ सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठले कोर्स लिडरको जिम्मेवारी सम्हालेका थिए।
तालिमले शिक्षकहरूमा स्काउटिङसम्बन्धी नेतृत्व क्षमता, अनुशासन, सेवा भाव तथा व्यावहारिक सीप अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्। आयोजकले आगामी दिनमा पनि यस्ता क्षमता विकासमूलक तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।







