झापा १० असार। हल्दीबारी गाउँपालिकाको निरन्तरको ताकेता पछि जलथल खानेपानीले निशुल्क १० हजार लिटर खानेपानी वितरणमा सम्झौता गरेको छ।
हल्दीबारी गाउँपालिकाले आ व २०८०/८१ को निति तथा कार्यक्रम र गाउँसभा हल्दीबारीका तिन वटै जलथल, गोलधाप र हल्दीबारी खानेपानीका सम्पूर्ण उपभोक्ताहरूलाई मासिक १० हजार लिटर खानेपानी निशुल्क गर्ने निर्णय गरेको थियो भने उक्त कार्यक्रमलाई गोलधाप र हल्दीबारीले सुरुवात बाटै कार्यान्वयन गरेका थिए तर जलथल खानेपानीले राजनीतिक प्रतिसोधको कारण निर्णय कार्यान्वयन नगरी जनतालाई द्विविधामा राख्दै आएको थियो।
गाउँपालिकाले पटक पटक पत्रचार र निरन्तर खबरदारी गरेपछि खानेपानीका अध्यक्षले गाउँपालिका पुगेर सम्झौता गरेका हुन्। हल्दीबारी गाउँपालिकाको निशुल्क खानेपानी जनमैत्री एवंम लोकप्रिय कार्यक्रम रहेको छ।
राप्रपाको बहुमत रहेको पालिकामा प्राविधिकधार बाली विज्ञान सहित कक्षा १२ सम्म निशुल्क शिक्षा, निशुल्क खानेपानी, विपन्न नागरिकहरुलाई निशुल्क स्वास्थ्य बिमा जस्ता कार्यक्रमहरु रहेका छन् । यस्तै पालिका हाता भित्रै स्वास्थ्य बिमा सेवा लागु हुने २४ सै घण्टा सेवा उपलब्ध भएको आधारभूत अस्पताल पनि संचालनमा रहेको छ।






