Logo

हल्दीबारी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित, ४८ करोड ८९ लाखको बजेट अनुमोदन (भिडिओ)



झापा, १० असार । झापाको हल्दीवारी गाउँपालिकाको नीति तथा कार्यक्रम सहित आगामी आर्थिक वर्ष २०८१/०८२ को वजेट १७ औं गाउँ सभाले पारीत गरेको छ । गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी मैनालीको अस्वस्थथाको कारण वडा नम्बर १ का वडाध्यक्ष देवि वहादुर थापाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र वार्षिक आय व्यय समेटिएको वजेट गाउँ सभाले अनुमोदन गरेको हो ।

गाउपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमका लागि ४८ करोड ८९ लाख ४० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । चालु आर्थिक २०८०/०८१ मा वर्षमा ४८ करोड ६९ लाख १० हजार ३२३ रुपैयाँ ७४ पैसाको बजेट रहेकोमा आगामी आर्थिक वर्ष २० लाख २९ हजार ६७६ रुपैयाँ २६ पैसा बढाएर अनुमानित बजेट ल्याइएको हो ।

गाउँपालिकाले कृषि विमा कार्यक्रमको थालनी,कृषक सम्मान कार्यक्रम,पशु उपचार प्रयोगशाला सञ्चालन, सुत्केरी भएका गाई भैंसीलाई सुत्केरी पोषण प्याकेजको निरन्तरता, शित भण्डारको स्थापना, पशु नश्ल सुधार तथा वांझोपन निवारण कार्यक्रम सञ्चालन गर्ने, कृषिमा प्राविधिक सेवा, उत्पादनमा टेवा अभियान अन्तर्गत कृषि पशु प्राविधिक सेवा घरघरमा र “हल्दीवारीको हल्दी” कार्यक्रम प्रवर्द्धनलाई वढावा दिइने नीति तथा कार्यक्रममा समाबेश गरेको छ ।

त्यस्तै शिपमुलक प्राविधिक तालिम केन्द्रको स्थापना, रोजगार मेला संचालन, विद्यालयमा कृषि विषय लिई अध्ययन गरेका विद्यार्थीहरुलाई रोजगारी, गाउँपालिकावाटै खानेपानी पाईप लाइन विस्तार, गाउँपालिका भित्रका नागरिकहरुलाई दश हजार लि सम्म खानेपानि निःशुल्क प्रदान गरिने कार्यक्रमलाइ निरन्तरता दिने कार्यक्रलाई पनि गाउपालिकाले विषेश महत्व दिएको छ ।

यसैगरी विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन, “हामी सबैका ईच्छा, अनिवार्य निशुल्क शिक्षा कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पठनपाठनलाइ यस वर्ष पनि निरन्तरता दिईएको छ । शिक्षामा समृद्धि, शैक्षिक गुणस्तरमा स्तरमा अभिवृद्धि अन्तर्गत शैक्षिक गतिविधि इन्टर्नेट मार्फत सञ्जालीकरण गर्ने तथा अभिभावकहरु वाट मोवाइल एप्स मार्फत विद्यालय गतिविधि अवलोकन गर्ने कार्यलाई निरन्तरता दिदै सुविधा सम्पन्न नमुना बाल कक्षा संचालनलाई अझ प्रभावकारी बनाइने  नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै “नागरिकको स्वास्थ्य, समृद्धिको आधार” स्वस्थ नागरिक खुशी नागरिक अभियान संचालन, गाउँपालिकास्तरीय पन्ध्र शैयाको आधारभूत अस्पतालमा चिकित्सक सहितको २४ घण्टे उपचार सेवालाई अझ व्यवस्थित बनाइने, आधारभूत अस्पतालवाट भिडियो X-Ray सहितको सेवा प्रदान गर्ने , गरिवीका रेखामुनि रहेका परिवारको पहिचान गरी निशुल्क स्वास्थ्य विमा गरिने ,ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, फरक क्षमता भएका नागरिकहरुलाई कम्तिमा महिनाको एक पटक घरभेट मार्फत स्वास्थ्य सेवा प्रदान गरिने महत्वपूर्ण योजना नीति तथा कार्यक्रममा समेटीएको छ ।

हल्दीवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा सम्पन्न १७ औं गाउँसभामा प्रदेश सभा सदस्य छविलाल चुडाल, वडा नम्बर २ का अध्यक्ष शुकलाल राजवंशी, वडा नम्बर ३ का अध्यक्ष बिस्णु प्रसाद ओलि र कार्यपालिका सदस्य शान्ता सिवाकोटीले सम्बोधन गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्