झापा, १० असार । झापाको हल्दीबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४९ करोड ७७ लाख ७१ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । सोमबार भएको गाउँ सभाको १९ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाले यसवर्ष पनि कृषि, स्वास्थ्य, शिक्षा तथा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ। कृषि तर्फ किसानको खुसी, पशुपालन र कृषि कार्यक्रमलाई निरन्तरता दिँदै ५० प्रतिशत लागत साझेदारीमा कृषि यान्त्रीकरण उपलब्ध, प्राङगारिक मल उत्पादनमा साझेदारी सहित स्वास्थ्य माटो र बाली बढाऔँ अभियान, बालीनालीमा रोग किरा नियन्त्रणका लागि शिविर, सामुदायिक नर्सरी स्थापना, हल्दीबारीको हल्दी कार्यक्रम, पशुहरूमा लाग्ने महामारीजन्य रोग रोकथाम, जनचेतना, दूध,मासु लगायत निर्यात गर्न प्रोत्साहन, चिस्यान केन्द्र स्थापनाका लागि पहल लगायत रहेका छन् ।
शिक्षा तर्फ कक्षा १२ सम्म निःशुल्क शिक्षालाई निरन्तरता दिँदै थप गुणस्तरीय बनाउन अनुगमन गरिने छ भने सबै विद्यालयमा घुम्ती कम्प्युटर शिक्षकलाई निरन्तरता, विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम, लोपोन्मुख, दलित तथा आदिवासी समुदायका जेहेन्दार विद्यार्थीलाई साइकल वितरण, शिक्षकहरूलाई विभिन्न तालिम लगायत रहेका छन्।यसैगरी आधारभूत स्वास्थ्य सेवा सबैका लागि, सधैँका लागि कार्यक्रम पहुँचयोग्य र प्रभावकारी बनाउने कार्यक्रम सञ्चालन, प्रसूति पोषण प्रोत्साहन, जनता उपचार कोष तथा आकस्मिक स्वास्थ्य सेवा, हल्दीबारी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गर्ने, बालमैत्री, पोषणमैत्री, एवं क्षयरोगमुक्त पालिका बनाउन चरणबद्ध कार्यक्रम सञ्चालन, स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता, बिरामीहरूलाई रेडक्रस सोसाइटीसँगको सहकार्यमा निःशुल्क रगत लगायत रहेका छन् भने निःशुल्क खानेपानी कार्यक्रम निरन्तर रहने छ। यसैगरी सबै वडामा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकताका आधारमा गरिनेछ भने बालमैत्री पालिका घोषणाका लागि आवश्यक कार्यक्रम अघि बढाउने, सामुदायिक वनहरूसँग सहकार्य गरी वन वातावरणका कार्यक्रम सञ्चालन तथा क्षमता अभिवृद्धि कार्यक्रम, सहकारी व्यवस्थापन तथा तालिम लगायत का कार्यक्रमहरू सर्वसम्मत रूपले पारित गरेको छ।
गाउँ सभाले पालिका गान स्वीकृत गर्दै अव औपचारिक कार्यक्रममा राष्ट्र गान पछि पालिका गान गाउनुपर्ने नीति पनि पारित गरेको छ । उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले प्रस्तुत गरेको विनियोजन विधेयक र आर्थिक विधेयक २०८२ पारित भएको थियो। सभामा प्रमुख अतिथि कोशी प्रदेशका सांसद छविलाल चुँडाल रहनुभएको थियो। सभामा हल्दीबारी वडा नं ४ का वडा सचिव जयप्रसाद पोखरेल र हल्दीबारी स्वास्थ्य चौकीका प्रमुख रामप्रसाद ढकाललाई दिर्घसेवा सम्मानबाट सम्मानित गरिएको थियो । दुवै जना आगामी साउनबाट अवकाश पाउन लागेका छन्।